
धनकुटा । धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ को फाइनल भोलि हुने भएको छ । रिक्रियसन मल्टिमिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. र टिन्स क्रिउ डान्स ट्रेनिङ सेन्टर धनकुटाले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको फाइनल बारे जानकारी दिएको हो ।
पूर्वी पहाडको सन्दर्भमा सांस्कृतिक र कलात्मक गतिविधिलाई थप विस्तार गर्ने उद्देश्यले गरिएको गट ट्यालेन्टको फाइनल तल्लो टुँडिखेलमा दिउँसो ४ बजेबाट सुरु हुने छ ।
प्रतियोगिता अन्तरगत गायनतर्फ प्रथम हुनेलाई नगद ५ लाख रुपैयाँसहित सोही बराबरको जीवन बीमा प्रिमियम, म्युजिक रेकर्डिङ अवसर, गिफ्टह्याम्पर, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै द्वितीय र तृतीय स्थान प्राप्त गर्नेले क्रमशः १ लाख र ५० हजार रुपैयाँसहित अन्य पुरस्कार पाउने छन् ।
यस्तै नृत्यतर्फ भने दुई उमेर समुहमा पुरस्कार वितरण हुने आयोजकको भनाइ छ । जसलाई १२ वर्षभन्दा कम र सो भन्दा माथि उमेर समुहमा विभाजन गरिएको छ । दुबै समूहमा प्रथम हुनेले जनही २ लाख ५० हजार तथा दोस्रो हुनेले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
गत असार २० गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाबाट ६ सय जनाले सहभागिता जनाएका थिए । जसमा ४ सय ३० जनाले प्रारम्भिक चरणमा सहभागिता जनाएका थिए ।
मेघा अडिसनपछि छनोट भइ ३१ जना प्रतिभा अन्तिम चरणमा प्रवेश गरेका छन् । जसमा गायनतर्फ १४, नृत्य सिनियरतर्फ ९ र जुनियरतर्फ ८ जना प्रतिस्पर्धी रहेका कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिए ।
स्थानीय कला, संस्कृति र युवाहरूको प्रतिभालाई उजागर गर्दै ग्रामीण भेगमा लुकेर रहेका प्रतिभालाई पहिचान गर्दै उनीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्याउने आयोजकको लक्ष्य । प्रतियोगितालाई केवल प्रतिस्पर्धाको मञ्चमा सीमित नराखी प्रतिभा विकास, अवसर सिर्जना र सांस्कृतिक संरक्षणसँग जोडिएको अभियानका रूपमा विकास गरिँदै आएको योगीले जानकारी दिए ।
प्रतियोगिता, प्रतिभा पहिचानसँगै पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि चलायमान बनाउने माध्यम पनि बन्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा युसिन यस्माली मगर, सुशान्त लिम्बु र दिपेश मगर नृत्यतर्फ निर्णायक मण्डलमा छन् । यस्तै जुनी खालिङ राई, दिनेश भारती र महेश राईले गायनतर्फको मूल्याङ्कन गर्ने छन् ।
यस वर्षको प्रतियोगितामा विशेष आकर्षणका रूपमा कलाकार डिजी राज पौडेल र ‘द भ्वाइस अफ नेपाल सिजन-६’ का प्रतियोगी विराट तामाङ छन् ।

सन्तोष सुवेदी/संगालोखबर 























