
विराटनगर । विराटनगरको आरोहण गुरुकुलमा भदौ २५ गतेदेखि गुरुप्रसाद मैनालीको कथामा आधारित ‘कर्तव्य’ नाटक मञ्चन भइरहेको छ । नाम्लो नाट्य समूहको आयोजनामा मञ्चन भइरहेको नाटकले दर्शकको मन जित्न सफल भएको छ ।
सुन्दर पारिवारिक सम्बन्ध निर्माणका लागि जोकोही पनि आफ्नो कर्तव्यबाट विमुख हुनुहुँदैन भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले नाटक मञ्चन गरिएको हो ।

भरत बर्बरिकले नाट्य रूपान्तरण गरेको ‘कर्तव्य’ लाई सुदीपजंग कार्कीले निर्देशन गरेका हुन् । नाटकमा बर्बरिक र कार्कीसहित अर्पित नेपाल, सन्तोष बोन्बो सविना श्रेष्ठ, संजय मुडियारी, सुशीला प्रसाईं दंगाल, प्रदीप परियार, मन्जिल अधिकारी, एन्जिला भट्टराई, जस्मिन गुरुङ, प्रान्जिला घिमिरे र जिविका कार्कीको अभिनय छ ।

आज नाटक हेर्न गुरुकुल पुगेकी कोशी प्रदेशकी सामाजिक विकास मन्त्री गीता तिम्सिनाले नाटकले दिएको सन्देश प्रशंसनीय रहेको उल्लेख गरिन् । नाटकले दिएको सन्देश अनुसार सबैले आफ्नो कर्तव्य इमानदारिताका साथ निर्वाह गर्नुपर्ने उनले बताइन् ।

विराटनगरको पोखरिया माध्यमिक विद्यालयका शिक्षक पर्शु सुवेदीले गुरुप्रसाद मैनालीको कथामा आधारित नाटकलाई कलाकारहरूले जीवन्त अभिनय गरेको उल्लेख गरे । नाटकले आदर्श समाज निर्माणका लागि सन्देश दिएको उनको भनाइ छ ।

विराटनगरको आदर्श माध्यमिक विद्यालयका शिक्षक महेश नेपालले ‘कर्तव्य’ सामाजिक परिवेशमा आधारित नाटक भएको उल्लेख गर्दै समाज रूपान्तरणका लागि बलियो सन्देश दिएको बताए ।

संगालोखबर 














