काठमाडौँ, २२ माघ ।  ताप्लेजुङस्थित पाथीभरा क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गरिने भएको छ ।

Advertisement

आगामी फागुन १ देखि ३ गतेसम्म हुने पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथनको राष्ट्रपतिबाट उद्घाटन हुँदैछ । महोत्सवमा कृषि उत्पादन, औद्योगिक हस्तकला तथा शिल्पकला, खाद्य परिकार उत्सव, सांस्कृतिक कार्यक्रम, प्याराग्लाइडिङ, भलिबल प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले उक्त स्थानमा प्रकृतिले विभिन्न किसिमका स्रोत र साधन उपलब्ध गराए पनि उचित व्यवस्थापन हुन नसक्दा स्थानीय पूर्वाधार विकास तथा जनताको समृद्धि कायम हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “उत्तरबाट दक्षिण बग्ने अधिकांश नदी त्यस क्षेत्रमा पर्छ, मुलुकमा ऊर्जाको विकासको लागि ताप्लेजुङले ठूलो योगदान गर्न सक्छ, स्थानीय तमोर जलाशय आयोजनाबाट करिब ७५० मेगावाट विद्युत् उत्पादन गर्नका सरोकार पक्षसँग गृहकार्य भइरहेको छ ।”

त्यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य भट्टराईले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सडक सञ्जालका लागि छोटो दूरीमा त्यहाँ पुग्नका लागि वैकल्पिक मार्ग विकास गर्न तमोर करिडोर प्राथमिकतामा रहेको बताउँदै सुकेटार विमानस्थल स्तरोन्नति गरी हवाई यातायातलाई सहज बनाइने र पर्यटकलाई आकर्षित गराइने छ भन्नुभयो ।

उक्त क्षेत्रमा प्रशस्तै छाँगा/छहरा, तालतलैया, नदीनालाका साथै पाँच हजार मिटर अग्ला चार हिमाल छन् । जैविक विविधता रहेको सो क्षेत्रमा जातीय, धार्मिक, भाषिक विविधता विशेषता रहेको छ । अहिले करिब तीन लाख पर्यटक त्यहाँ आउने गरेको बताइएको छ ।
पाथीभरा मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका सचिव तारानाथ घिमिरेले पाथीभरा धाम प्रवेशद्धार शिलान्यास, लोक झाँकी र पाथीभरा दूतको घोषणा गरिने जानकारी दिनुभयो ।

पाथीभरा क्षेत्र विकास समिति र स्थानीय नयाँ रणभीम गुल्मले महोत्सवमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पाथीभरा क्षेत्र नेपालकै प्रसिद्ध धार्मिकस्थलमध्ये महत्वपूर्ण तीर्थस्थल हो । पाथीभरा देवीसँग भाकल गरेपछि मनोकामना पूरा हुने र भाकल पूरा भएपछि पुनः भक्तजन त्यहाँ जाने प्रचलन छ ।

मुलुकमा पाइने ४५ मध्ये २८ प्रजातिका लालीगुराँस र १०० भन्दा बढी प्रजातिका सुनाखरी पाथीभरा क्षेत्रमा पाइन्छ । यस्तै मुनाल, डाँफे, चिरकालिज, हरियो लामपुच्छ्रेलगायत दुर्लभ पन्छीले उक्त स्थानको सौन्दर्य बढाएको पर्यटन व्यवसायी पासाङ लामाले बताउनुभयो । यस क्षेत्रमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा मुलुकको दोस्रो अग्लो हिमाल हो । त्यस्तै कुम्भकर्ण, काङ्बाचेन, मकालु, लोत्सेलगायत हिमाल यहाँबाट देख्न सकिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!