धनकुटा । धनकुटामा आगामी चैत १७ गतेबाट सुरु हुने भिमनारायण गोल्डकपको तयारी पूरा भएको छ । सहिद भिमनारायण प्रतिष्ठानको आयोजनामा हुन लागेको १७ औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको हो ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने जानकारी दिएको छ । प्रतियोगितामा आयोजकसँगै सप्तरीको नमो बुद्ध युथ फुटबल क्लब, काठमाडौको चितलाङ्ग फुटबल क्लब र झापाको बिर्तामोड युनाइटेड क्लबको सहभागिता रहनेछ ।
यस्तै सुनसरीको ब्वाइज फुटबल क्लब इटहरी, उदयपुरको गाईघाट फुटबल क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं र मोरङको बेलबारी फुटबल क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ र उप-विजेताले ३ लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने मूल आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनका लागि धनकुटा नगरपालिकासहित पाख्रीबास नगरपालिका, महालक्ष्मी नगरपालिका र साँगुरीगढी, सहिदभूमि, छथर जोरपाटी र चौबिसे गाउँपालिकाले सहयोग गरेका छन् । प्रतियोगिता चैत २३ गतेसम्म सञ्चालन हुनेछ ।