विराटनगर । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुन विराटनगरमा सम्मानित भएका छन् । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले आफ्नो आत्मकथामा आधारित पुस्तक बिक्री गर्न आएका पुनलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको हो ।
पुनलाई निमन्त्रणा गरेर मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले माला, खादा, अबिर र महानगरको लोगो लगाइदिएर सम्मान गरे ।
मेयर कोइरालाले पुनको अभियानमा महानगरले सँधै साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पुनले महानगरलाई धन्यवाद दिँदै हालसम्म पुस्तक बिक्रीबाट १० करोड रुपैयाँ सङ्कलन भइसकेको जानकारी दिए । उनले जसरी कृषि औजार कारखाना सञ्चालन गरेरै छाड्ने उद्घोष गरे ।
उनले राज्यले सहयोग नगरे पनि जनताको सहयोगबाट अबको दुई वर्षभित्रमा कृषि औजारहरू उत्पादन गर्ने बताए । कारखानाबाट धान, गहुँ, तरकारी रोप्ने, गोड्नेलगायतका औजार उत्पादन गरिने उनको भनाइ छ ।
कारखानाबाट १५ किसिमको औजार नमुना बनाएर परीक्षण भइरहेको पुनले बताए । सोही अवसरमा महानगरले दुईलाख बराबरको पुस्तक खरिद गरेको छ ।