विराटनगर । विराटनगरमा सोमबार देखि चौथो संस्करणको इकयुवालिटी कप टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजना तथा मयारिलिबोन क्रिकेट क्लब र क्रिकेट विथआउट बाउन्ड्रिजसँगको सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
विराटनगर-६ स्थित ‘म्यारिलिबोन विराटनगर ज्वाला क्रिकेट ग्राउण्ड’ मा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेश प्रदेशका सप्तरी र सिराहा जिल्लाले सहभागिता जनाउने आयोजक संस्थामा संयोजक मन्दिप शाहले जानकारी दिए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्ने कार्यक्रममा कोशी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सर्वजीत राज पाण्डे र मोरङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सादबाबु कुरेशीको उपस्थिति रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता लिगका आधारमा खेलाइने संयोजक शाहले बताए । जसमा सहभागि जिल्लाले सबैसँग एक-एक खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने दुई टोली फाइनलमा खेल्नेछन् । कोशी र मधेश प्रदेशमा महिला क्रिकेटको क्षेत्र विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता गरिएको शाहले जानकारी दिए ।
आयोजकका अनुसार इक्युवालिटी कप खेलेका महिला खेलाडीहरूले यू-१९ तर्फ प्रदेश, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिसकेका छन् । प्रतियोगिता सञ्चालनका लागि करिब साढे ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
फाउण्डेसनले स्थापना कालदेखि नै लैङ्गिक हिंसा अन्त्य गर्नका लागि विभिन्न काम गर्दै आएको बोर्ड सदस्य स्नेहा गुवाजुले जानकारी दिइन् । फाउण्डेसनले प्रतियोगिता सञ्चालनका लागि कोशी प्रदेश क्रिकेट सङ्घ र मोरङ जिल्ला क्रिकेट सङ्घसँग समन्वय गरेको छ । चैत २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रत्येक दिन दुईवटा खेल हुनेछन् ।