धनकुटा । सप्तरीको नमोबुद्ध युथ फुटबल क्लबले सहिद भीमनारायण गोल्डकपमा विजयी सुरुवात गरेको छ । धनकुटाको तल्लो टुँडिखेलमा आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहिद भीमनारायण प्रतिष्ठान धनकुटालाई ३-१ गोल अन्तरले पराजित गर्दै नमोबुद्धले विजयी सुरुवात गरेको हो ।
खेलको १७ औं मिनेटमा नमोबुद्धका जर्सी नम्बर ६ का निर्मल घिसिङले गोल गर्दै टिमको खाता खोले । ३२ औं मिनेटमा नमोबुद्धका जर्सी नम्बर ९ का खेलाडी मिक्सन डासले गोल थप्दै टिमलाई २-० ले अग्रता दिलाए । खेलको ३९ औं मिनेटमा पुनः नमोबुद्धका जर्सी नम्बर २५ का मोहित गुरुङले गोल गर्दै पहिलो हापमा आयोजकलाई ३-० गोलले पछि पारे ।
मध्यान्तरपछि खेलको ५३ औं मिनेटमा आयोजक धनकुटाका क्याप्टेन ९ नम्बर जर्सीका दिपेन शाक्यले पहिलो गोल गर्दै टिमको खाता खोले । तर, थप गोल गर्न नसक्दा आयोजक धनकुटा उद्घाटन खेलबाटै बाहिरिनु परेको छ ।
नमोबुद्धका क्याप्टेन रविन बस्नेत खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार पुरस्कार पाएका छन् । अब, भोलिको खेल ब्वाइज फुटबल क्लब इटहरी र गाइघाट फुटबल क्लब उदयपुरवीच हुनेछ ।
२०६३ सालबाट सञ्चालन हुन थालेको भीमनारायण गोल्डकपको यो १७ औं संस्करण हो । प्रतियोगितामा आठ टिम सहभागि छन् । प्रतियोगिताको विजेताले नगद ५ लाख र उप विजेताले २ लाख ५० हजार रुपैयाँ पाउने आयोजक समिति संयोजक शम्भु प्रधानले जानकारी दिए ।