
विराटनगर । नेपालमा सर्पदंशको वर्तमान अवस्था, देखा पर्ने लक्षण तथा अपनाउनुपर्ने सावधानीबारे विराटनगरमा अन्तरक्रिया भएको छ । फेयरमेड र सीबीआर विराटनगरले आज सञ्चारकर्मीहरू अन्तरक्रिया गर्दै सर्पदंशबाट हुने क्षति र सावधानीका विषयमा जानकारी गराएको हो ।
नेपालमा बर्सेनि करिब २० हजार मानिसलाई सर्पले टोक्दा एक हजारको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क रहेको जनस्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सर्पदंशका कारण हुने मृत्यु र अपाङ्गतालाई सन् २०३० सम्ममा ५० प्रतिशतले कम गर्ने विश्व स्वास्थ्य सङ्गठनको लक्ष्य छ ।
अन्तरक्रियामा कार्यक्रममा जनस्वास्थ्य अधिकृत श्रेष्ठले नेपालमा सर्पदंशको वर्तमान अवस्था, देखा पर्ने लक्षण तथा अपनाउनुपर्ने सावधानीबारे जानकारी प्रस्तुत गरेका थिए । विशेषगरी तराई क्षेत्रका कृषक, कृषि मजदुर, माछा मार्ने व्यक्ति, सपेरा र बालबालिकाहरू सर्पदंशको उच्च जोखिममा छन् ।
नेपालमा पाइने ८९ प्रजातिका सर्पमध्ये १७ प्रजाति विषालु रहेको कार्यक्रममा जानकारी गराइएको छ । जसमा गोमन (कोब्रा), करेत, किङ कोब्रा, कोरल र विभिन्न प्रकारका भाइपर सर्पहरू छन् ।
गोमन र करेतजस्ता सर्पको विषले स्नायु प्रणालीमा असर गरी पक्षघात हुने तथा भाइपर जातका सर्पको विषले रगत जम्ने प्रक्रियामा अवरोध पुर्याउने श्रेष्ठले जानकारी दिए ।
सर्पदंशपछि धामीझाँक्रीकहाँ लैजाने, टोकेको ठाउँमा काट्ने, चुस्ने, आगोले डाम्ने, जडीबुटी वा कुखुराको मलद्वार लगाउने तथा खोर्सानी खुवाउने जस्ता अन्धविश्वास र गलत धारणाले ज्यान जोखिममा पर्ने गरेको उनले बताए ।
सर्पले टोकेमा बिरामीलाई शान्त राख्न, प्रभावित अङ्गलाई स्थिर वा काम्रो बाँधेर हलचल हुन नदिन र जतिसक्दो छिटो नजिकैको सर्पदंश उपचार केन्द्र वा अस्पताल पुर्याउन उनले सुझाव दिए ।
सर्पदंशबाट बच्न खेतबारीमा काम गर्दा बुट र पञ्जा लगाउन, भुइँमा नसुत्न, झुलको प्रयोग गर्न, घरवरिपरि मुसा र कसिङ्गर नियन्त्रण गर्न तथा राति हिँड्दा टर्च वा लट्ठीको प्रयोग गर्न आग्रह गरिएको छ ।
स्थानीय सरकारले एन्टि-स्नेक भेनम र भेन्टिलेटर/आइसियू सहितको स्वास्थ्य सेवामा पहुँच बढाउनुका साथै समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

संगालोखबर 




















