
विराटनगर । विराटनगर र धरानको भाटभटेनी सुपर मार्केटमा जलेको अवस्थामा भेटिएका मानव कङ्कालको पहिचान हुन सकेको छैन । जलेर खरानी भएको अवस्थामा कङ्काल भेटिएको खबर सार्वजनिक भएपनि कतैबाट आफन्त हराएको जानकारी प्रहरीले पाएको छैन ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि हालसम्म धरानमा चार र विराटनगरमा एउटा मानव कङ्काल फेला परेको छ । खरानी भएको अवस्थामा भेटिएका कङ्काल आगजनीकै क्रममा लुटपाट गर्न गएकाहरूको हुनसक्ने प्रहरीको अनुमान छ ।
‘भेटिएको कङ्काल पहिचान गर्नसक्ने अवस्थामा छैन । सबै खरानी भइसकेको अवस्थामा थोरै भाग मात्र फेला परेको हो’, मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले संगालोखबरसँग भनिन्, ‘अहिलेसम्म कतैबाट पनि आफन्त हराएको भनेर कुनै जानकारी आएको छैन ।’
विराटनगरको भाटभटेनीमा जलेर खरानी भएको अवस्थामा सोमबार दिउँसो मानव कङ्काल फेला परेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको छ । डीएसपी चुडालले अहिलेसम्म कतैबाट पनि आफन्त हराएको भनेर कुनै जानकारी प्राप्त नभएको बताइन् ।
धरानको भाटभटेनीमा जलेको अवस्थामा भेटिएका चार मानव कङ्कालको पनि पहिचान हुन सकेको छैन । इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले डीएनए पछि मात्रै थप कुरा खुल्ने बताए ।
‘अहिलेसम्म कतैबाट पनि मान्छे हराएको भनेर हामीलाई जानकारी आएको छैन’, डीएसपी जबेगुले संगालोखबरसँग भने, ‘भाटभटेनीमा लुट्न गएकाहरूको नै बाहिर निक्लन नसक्दा मृत्यु भएको अनुमान छ ।’
धरानको भाटभटेनीमा शुक्रबार तीन जनाको चौथो र एक जनाको दोस्रो तलामा कङ्काल फेला परेको थियो ।
‘त्यही काम गर्ने कर्मचारी वा कुनै नेपाली नागरिक भएको भए तुरुन्तै खोजीको लागि सम्पर्कमा आउनुहुन्थ्यो होला’, प्रहरी स्रोतले भन्यो, ‘कुनै आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुनसक्ने अनुमान पनि छ । भारतीय नागरिक पनि हुनसक्ने सम्भावना छ । अहिले नै यही भन्न सकिँदैन ।’

मोहन ढकाल/संगालोखबर 













