मोहन ढकाल/संगालोखबर

विराटनगर । भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ स्थित धोद्लेखानी गाउँ शोकमा डुबेको छ । गएराति एकै परिवारका चार जनाको छुरी प्रहारबाट विभत्स हत्या भएपछि गाउँमा रुवाबासी चलेको छ ।

Advertisement

भोजपुर नगरपालिका-२ हेलौँछाका ३० वर्षीय राजेन्द्र राईले ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती १६ वर्षीया मनिषा गिरी र सालो ९ वर्षीय सपन गिरीको हत्या गरेका हुन् ।

वडाध्यक्ष राजकुमार तामाङ घटनाले आफूहरू विक्षिप्‍त बनेको बताउँछन् । राजेन्द्र र मनिषाबीच प्रेम विवाह भएको थियो । तर उनी माइत गएर बसेपछि राजेन्द्र श्रीमतीलाई लिन भनेर ससुराल गएको खुलेको छ ।

सोही क्रममा विवाद हुँदा विभत्स हत्या भएको अनुमान प्रहरीले गरेको छ । यद्यपि घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ । राजेन्द्र घाइते अवस्थामा छन् । उनलाई जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएकोमा थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

‘मनिषा र राजेन्द्रको भागी विवाह भएको रहेछ’, वडाध्यक्ष तामाङले संगालोखबरसँग भने, ‘सासु–ससुराले लग्न नदिएपछि यो घटना घटेको खुलेको छ । उमेर नपुगेका कारण सासु-ससुराले नपठाउँदा घटना घट्यो ।’

उनका अनुसार करिब डेढ वर्षअघि उनीहरूबीच प्रेम विवाह भएको थियो । ‘१५/२० दिन अगाडि नै उ यहाँ आएको रहेछ’, उनले थपे, ‘मैले चिनेको पनि थिइन् । छुरी बोकिरहेको थियो । आज यस्तो घटना घट्यो ।’

उनका अनुसार मनिषा करिब तीन महिना अघिदेखि माइतमै थिइन् । छोरी नपठाउने भएपछि राजेन्द्रले घटना घटाएको उनको भनाइ छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरतर्फ लगेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका निमित्त प्रमुख इन्स्पेक्टर दीपक श्रेष्ठले घटनाको गम्भीर ढंगबाट अनुसन्धान सुरु गरिएको जानकारी दिए । ‘घटना राति १०/११ बजेतिरको हो भनेर घाइते राजेन्द्रले भनेका छन्’, इन्स्पेक्टर श्रेष्ठले संगालोखबरसँग भने, ‘उनैले बिहानको राति सवा १ बजेतिर फोन गरेर घटनाको बारेमा जानकारी गराएका थिए ।’ उनको पेटमा पनि दुई/तीन ठाउँमा छुरी प्रहार भएको चोट छ ।

उनले प्रारम्भिक बयानका क्रममा आफू सुतिरहेको अवस्थामा सासुले चक्कु प्रहार गरेको र त्यही खोसेर सबैको हत्या गरेको बताएको इन्स्पेक्टर श्रेष्ठले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

भोजपुर घटनामा राईको बयान : सासुले चक्कु प्रहार गरेपछि सबैको हत्या गरेँ

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!