संगालोखबर
घटनास्थल

विराटनगर । भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा चार जनाको हत्यामा संलग्न राजेन्द्र राईले सासुले आफूलाई चक्कु प्रहार गरेपछि सबैको हत्या गरेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका निमित्त प्रमुख इन्स्पेक्टर दीपक श्रेष्ठका अनुसार राईले आफू सुतिरहेको अवस्थामा सासुले चक्कु प्रहार गरेको र आफूले त्यही खोसेर हत्या गरेको बताएका हुन् ।

उनले ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती मनिषा गिरी र सालो सपन गिरीको हत्या गरेका हुन् ।

भोजपुर नगरपालिका-२ हेलौछाका करिब २६ वर्षीय राई ५/६ दिन अगाडि ससुराली गएको खुलेको उनको भनाइ छ । ‘सुतिरहेको अवस्थामा सासूआमाले चक्कु प्रहार गर्नुभयो । अनि त्यही चक्कु खोसेर सबैलाई मारेको भनेर राईले भनेका छन्’, इन्स्पेक्टर श्रेष्ठले संगालोखबरसँग भने, ‘अहिले हामीले अनुसन्धान गरिरहेका छौं ।’

घटनाका बारेमा राति सवा १ बजेतिर राईले नै प्रहरीलाई खबर गरेका थिए । ‘घटना हुँदा राति १०/११ बजेको थियो होला भनेर उसले भनेको छ’, श्रेष्ठले थपे, ‘घाइते राई अहिले सामान्य बोलिरहेका छन् ।’

जिल्ला अस्पताल भोजपुरबाट डिस्चार्ज गरेर राईलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको उनले बताए ।

यो पनि-

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!