विराटनगर । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा आयातित पेय पदार्थ प्रयोगमा रोक लगाउने क्रम बढेको छ । स्थानीयको सक्रियतामा आयातित पेय पदार्थ प्रयोगमा रोक लगाउने क्रम बढेको हो ।
यसअघि वडा नम्बर १४ बुइपाका विभिन्न टोलमा आयातित पेय पदार्थ उपयोगमा प्रतिबन्ध लगाइसकिएको छ । हालसालै वडा नम्बर १० पाथेकामा पनि आयातित पेय पदार्थ उपयोगमा रोक लगाइएको छ । १२ माघमा टोल विकास समितिले स्वास्थ्यमा प्रतिकूल असर पार्ने र फजुल खर्च बढ्ने भन्दै आयातित पेय पदार्थ रोक लगाउने निर्णय गरेको हो ।
समितिले पास्नी, छेवर, व्रतबन्ध, गुन्युचोली, बिहे, काजकिरिया र चाडपर्व, संस्कार संस्कृति लगायतका सम्पूर्ण गतिविधिमा आयातित पेय पदार्थ प्रयोग नगर्ने गरी प्रतिबन्ध गरेको हो । यसको पूर्ण कार्यान्वयनका लागि समितिले कडाइ पनि गर्नेछ ।
जसका लागि समितिले जरिवाना तोकेको छ । पहिलो पटक निर्णय उल्लङ्घन गरेको खण्डमा पाँच हजार, दोस्रो पटक सात हजार र तेस्रो पटक उल्लङ्घन गरे दश हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
वडा नम्बर १० का वडाध्यक्ष मुगाधन राईले युवाहरूको सक्रियतामा भएको कार्यको प्रशंसा गरे । ‘साबिकको वडा नम्बर ३ पाथेकामा अहिले यो अभियान सुरु भएको छ । हाम्रो वडा भरीमा १९ वटा टोल विकास संस्था छ’, अध्यक्ष राईले संगालोखबरसँग भने, ‘त्यो मध्ये एउटा संस्थाले आयातित पेय पदार्थलाई प्रतिबन्ध गरेको हो ।’
यो अभियानले स्थानीय उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ । यसको पालना गराउन टोल विकास संस्था जोडतोडले लागेको उनले सुनाए ।
‘अब १८ वटा टोल विकास संस्थामा पनि यो अभियानका लागि पहल गर्ने छौँ’, वडाध्यक्ष राईले थपे, ‘यसका लागि वडाले पनि भूमिका खेल्नेछ । स्वास्थ्यका हिसाबले पनि आयातित पेय पदार्थलगायत हानिकारक नै हुन्छन् ।’
यो कार्यलाई निरन्तरता दिएर अन्य पालिकालाई पनि आकर्षित गर्नतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । टोल विकास संस्थाले सुरु गरेको अभियानप्रति वडावासीले पनि साथ दिइरहेको उनले बताए ।
सम्बन्धित समाचार-