विराटनगर । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाका स्थानीयले आयातित पेय पदार्थ प्रयोगमा रोक लगाएका छन् । गाउँघरमा हुने धार्मिक तथा सामाजिक कार्यक्रम तथा अन्य समयमा पनि आयातित पेय पदार्थमा रोक लगाएका हुन् ।
वडाका चार वटा टोलमा अभियानले तीव्रता पाएको वडाध्यक्ष दिनेश कुमार राईले बताए । ‘सूर्योदय टोल विकास संस्थाले झण्डै दुई वर्ष अगाडि यो कार्यको सुरुवात गरेको थियो’, वडाध्यक्ष राईले संगालोखबरसँग भने, ‘वडावासीको अगुवाइमा भएको यो कार्य राम्रो छ । उहाँहरूको यो कार्यले स्थानीय उत्पादनको खपत पनि बढाएको छ ।’
उनले टोल विकास संस्थाले निर्णय गरेर प्रभावकारी कार्यान्वयन पनि गरेको उल्लेख गरे । यो कार्यले गाउँको अर्थतन्त्रलाई पनि मजबुत बनाउने उनले बताए । बाहिरबाट गाउँमा आउने पाहुनाले समेत आयातित पेय पदार्थ ल्याउन छाडेको उनको भनाइ छ ।
‘सूर्योदय टोलले सुरुवात गरेकोमा प्रभावकारी कार्यान्वयन पनि भयो’, उनले थपे, ‘सोही अनुसार अन्य टोलले पनि सुरुवात गरेका छन् । सबैतिर यसको प्रभाव राम्रो देखिएको छ ।’
स्थानीयले वडाभरि नै यसलाई लागू गर्न सहयोग मागिरहेका उनले बताए । ‘एउटा अभियान नै जस्तो गरेर वडाभरि नै यो लागू गरौँ भनेर भनिरहनु भएको छ’, वडाध्यक्ष राईले भने, ‘हामीले पनि अगुवा वडावासीसँग छलफल गरेर लागू गर्ने भन्ने योजना बनाएका छौँ ।’
आयातित पेय पदार्थको ठाउँमा अन्य प्रशस्तै विकल्प रहेको उनको भनाइ छ । दहीको लस्सी, फलफूलको जुस, गाउँमा उत्पादन गरिएको जाँडरक्सी लगायत यसको विकल्प भएको उनले बताए ।
‘बोतलको सिलप्याक रक्सी र पेय पदार्थमा रोक लगाउँदा पनि गाउँको अर्थतन्त्र बचत हुन्छ’, उनले भने, ‘स्वास्थ्यमा पनि हानी पुर्याउँदैन भन्ने हो । यसको प्रभावकारी कार्यान्वयन पनि भइरहेको छ ।’
गाउँमा आउने आफन्तहरूले पनि यसलाई सकारात्मक लिने गरेको उनको भनाइ छ । उनले वडाभरि नै यो कार्यको सुरुवात गर्नेगरी काम भइरहेको जानकारी दिए ।