मोहन ढकाल/संगालोखबर


विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमो नारायण माझीले आफूविरुद्ध गलत प्रचारबाजी भएको बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले आफूले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई सोधेको स्पष्टीकरणको विषयमा गलत प्रचार भएको बताएका हुन् ।

उनले माटो उत्खनन रोक्ने विषयमा आफूलाई जानकारी नदिई प्रमुख प्रशासकीय अधिकृतले प्रहरीलाई पत्र काट्नु गलत भएको बताए । ‘गैरकानुनी उत्खनन कार्य रोक्का गर्न प्रहरी चौकी झोराहाटलाई काटिएको पत्रको सम्बन्धमा मेरो पूर्ण समर्थन छ’, उनले भने, ‘तर म काठमाडौं गएको समयमा पत्र काटिएको र मलाई कुनै जानकारी नहुँदा आम नागरिकबाट आउने प्रश्नको जवाफ दिन मलाई गाह्रो पर्ने भएकाले जवाफ माग मात्रै गरेको हुँ ।’

Advertisement

उनले उक्त विषयलाई लिएर भ्रम सिर्जना गरेको भन्दै खेद समेत प्रकट गरे । उनले आफूले अधिकृतलाई स्पष्टीकरण सोधेकै भरमा माटो उत्खननमा संलग्न भनेर भन्नु गलत भएको बताए । उनले भने, ‘रोक्ने विषयमा त म सकारात्मक छु । मैले यति सोधेको हो । मलाई जानकारी नदिई किन पत्र काटियो ?’

नहरको समिति समेत छुट्टै भएकाले उनीहरूसँग पनि छलफल गर्नुपर्नेमा एकलौटी ढङ्गले पत्र पठाउनुमा आफ्नो आपत्ति रहेको जनाए । कार्यवाहक नदिई काठमाडौं गएका अध्यक्ष माझीले प्रशासकीय अधिकृतले पत्र काट्नु गलत हो भन्ने प्रश्नमा आफूलाई नसोध्नु गलत भएको बताए ।

‘सात दिन भन्दा बढी बाहिर गएमा मात्रै कार्यवाहक दिने हो’, माझीले भने, ‘उहाँहरूले मलाई पेलेर जान खोज्नु गलत हो । मलाई जनताले निर्वाचित गराएका हुन् । म मिलेर जान खोज्छु । उहाँहरू पेल्नुहुन्छ भने सहन सक्दिनँ ।’

प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्ने या नगर्ने भन्ने विषय स्पष्टीकरण आएपछि थाहा हुने उनको भनाइ छ । ‘अहिले नै उहाँलाई राख्ने या नराख्ने भन्ने टुङ्गो छैन्’, उनले भने, ‘उहाँले पठाएको स्पष्टीकरणले के गर्ने भन्ने निचोड निक्लन्छ ।’

आफूलाई नसोधी पत्र काट्नुमा केही न केही षड्यन्त्र भएको हुनसक्ने उनको अनुमान छ । ‘म बालेन र हर्क हुन खोजेको हैन । मेरो आफ्नै पहिचान छ’, उनले थपे, ‘नसोधी पत्र काट्नुमा केही न केही षड्यन्त्र हुन सक्छ ।’ नहरमा भइरहेको उत्खननले बस्ती या खेतियोग्य जमिनमा क्षति पुग्न नहुने पक्षमा आफू पनि रहेको उनको भनाइ छ । ‘वैध तरिकाले नै उत्खनन भएको भएपनि क्षति पुग्न भएन’, उनले भने, ‘त्यस्तो कार्य रोकिनुपर्छ भन्ने हो ।’

ग्रामथान-२ मा भइरहेको माटो उत्खनन रोकिदिन भन्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले पुस ८ गते प्रहरीलाई पत्र पठाएका थिए । उपाध्यक्षसहित जनप्रतिनिधिको टोलीले अनुगमन गरेपछि पौडेलले प्रहरीलाई पत्र पठाएका हुन् ।

सोही विषयलाई लिएर अध्यक्ष माझीले पौडेललाई पुस ११ गते स्पष्टीकरण दिन भन्दै पत्र पठाएका थिए । गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनबाट माझी ग्रामथानको अध्यक्षमा निर्वाचित भएका हुन् ।

यो पनि-

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!