विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद देखिएको छ । अध्यक्ष नमो नारायण माझीले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई लेखेको स्पष्टीकरणले यसको पुष्टि गरेको हो ।
गैरकानुनी उत्खनन भइरहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले प्रहरीलाई पत्र लेखेका थिए । उनले उत्खनन रोक्न माग गर्दै प्रहरीलाई लेखेको पत्रमाथि अध्यक्षले स्पष्टीकरण सोधेका हुन् । अध्यक्ष माझीले स्पष्टीकरण सोधे पछि उनीहरूबीचको विवाद बाहिरिएको हो । पौडेलले पुस ८ गते झोराहाट प्रहरी चौकीलाई पत्र लेखेका थिए ।
पत्रमा भनिएको छ ‘ग्रामथान गाउँपालिका वडा नम्बर २ अन्तर्गतका विभिन्न नहर, सडक लगायतका सार्वजनिक स्थलबाट गैरकानूनी रूपले माटो उत्खनन भइरहेको भन्ने जनगुनासो आएको तथा गाउँपालिकाबाट अनुगमन गर्दा समेत उत्खनन भएको पाइएकोले त्यस प्रकारको गैरकानूनी उत्खनन कार्य रोकी उत्खनन कार्यमा संलग्न सवारी साधनहरू नियन्त्रणमा लिई दिनुहुन अनुरोध छ ।’
सोही पत्रलाई आधार मानेरै अध्यक्ष माझीले पुस ११ गते प्रमुख प्रशासकीय अधिकृतमाथि स्पष्टीकरण पत्र लेखेका हुन् । स्पष्टीकरण पत्रमा भनिएको छ ‘यस ग्रामथान गाउँपालिकाबाट मिति २०८१-०९-०८ गतेको दिन च. नं. १०१५, मिति २०८१-०९-०८ को गैरकानूनी उत्खनन कार्य रोक्का गर्ने सम्बन्धमा प्रहरी चौकी, झोराहाटलाई काटिएको पत्र के-कति कारणले काटिएको हो ? स्पष्ट खुलाई दिन हुन जानकारीको लागि अनुरोध छ ।’
सो विषयमा बुझ्न खोज्दा दुबै जना बोल्न चाहेनन् । ‘दुबै पत्र हेरेपछि सबै कुरा स्पष्ट भइहाल्छ’, प्रमुख प्रशासकीय अधिकृत पौडेलले संगालोखबरसँग भने, ‘पत्रहरू सार्वजनिक भएकै छन् । यो विषयमा अहिले नबोलौँ । द्वन्द्व बढ्छ फेरी ।’
अध्यक्ष माझीले पनि यो विषयमा अहिले केही नबोल्ने बताए । ‘भोलि म पत्रकार सम्मेलन गर्छु । त्यही पत्रकार सम्मेलनमा आउनु’, उनले संगालोखबरसँग भने, ‘फोनमा भनिरहन चाहन्न । सबैकुरा त्यही स्पष्ट हुन्छ ।’
उत्खनन भएको स्थान ग्रामथान १ र २ को सीमाना क्षेत्रमा प्रशासकीय अधिकृतसहित जनप्रतिनिधिको टोलीले अनुगमन गरेको थियो । सो क्रममा नहर र रोड नै जोखिममा पारेर उत्खनन भएको पाइएको थियो ।
‘अवैध तरिकाले माटो उत्खनन भइरहेको छ भन्ने जनताबाट सूचना आएको थियो’, नाम नखुलाउने शर्तमा एक जनप्रतिनिधिले संगालोखबरसँग भने, ‘सिँचाइको नहर खन्ने क्रममा मापदण्ड विपरीत गरेको पाइएको थियो । प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले अनुगमन गरियो । उत्खनन रोक्न अधिकृत ज्यूले प्रहरीलाई पत्र पठाउँदा अध्यक्ष ज्यू रिसाउनुभयो ।’
अधिकृतले उत्खनन रोक्न पत्र पठाएर राम्रो काम गरेको उनले सुनाए । स्पष्टीकरण सोधिसकेपछि पनि अध्यक्षसँग भेटेर कुरा गरेको उनले बताए । उनले पुनः थपे, ‘अध्यक्ष ज्यू एकदमै रिसाहा हुनुहुन्छ । उहाँबाट किन मलाई नसोधी पत्र काटियो भन्ने कुरा आएको छ ।’
उनले अध्यक्षलाई सामूहिक रूपमा अनुगमन गरेको बताएको पनि सुनाए । ‘तर उहाँमा अलिकति घमण्ड छ’, उनले भने, ‘उहाँ झर्किएर नै बोल्नु भयो । म प्रमुख हुँ । सबै कुरा मैलै भनेकै हुन्छ जस्तो गर्नुहुन्छ ।’