आजको मान्छे
विज्ञानको कोखबाट जन्मिएर पनि
आजको मान्छे ढुङ्गेयुगतिर फिर्छ
कामुक युवतीको पोस्टर झैँ
आफ्नो परिचय सडकका भित्ता–भित्तामा टाँस्छ
अर्धाङ्गीनी झैँ हिँड्छ र इमान कमाउँछ
र मान्छेले मान्छेलाई भन्छ– ‘म भगवानको पूजा गर्छु !’
बुद्धको सालिक जलाएर शान्तिको साधना गर्छ !
कानूनको धज्जी उडाएर न्यायको प्रार्थना गर्छ ।
र, मन्दिरको देउतालाई फूलपाती चढाएर
आजको मान्छेले भन्छ– ‘भगवान् म तिम्रो भक्त हुँ !’
आफैँले पालेको बोको काटेर मन्दिरको पूजा गर्छ
रगतको बलि चढाएर न्यायको उपासना गर्छ
परेवाको टाउको छिनालेर शान्तिको बदख्वाइँ दिन्छ
आजको मान्छे
अन्याय आफू गर्छ र न्यायको भीख माग्छ
आजको मान्छे
आमालाई मारेर आमाकै माया खोज्छ
जीवनदातालाई कुल्चेर नयाँ जीवनको सङ्कल्प गर्छ
जिन्दगीलाई आफू धोका दिन्छ
र जिन्दगीलाई धोकेबाजको आरोप लगाउँछ
भाइ–भाइमा युद्ध गर्छ
र, विश्वबन्धुत्वका पाठ सिकाउँछ
अन्तिममा,
भगवानलाई चढाएको टाउको ल्याएर
जाँडका लागि सितन बनाउँछ
मातुन्जेल धोक्छ
र, मजग सडेको ठिटो झैँ मध्यरात सडकमा निस्किएर
आजको मान्छे
आफ्नै नाममा मुर्दावादको नारा लगाउँछ
आजको मान्छे
कामुक युवतीको पोस्टर झैँ
आफ्नो परिचय सडकका भित्ता–भित्तामा टाँस्छ
अर्धाङ्गीनी झैँ हिँड्छ र इमान कमाउँछ
***
हार
म एक बूढो रूख
जवान हुँदा कहिल्यै सोचिन
एक दिन बूढो हुनेछु
हाँगाहरू मक्काउनेछन्, पातहरू झर्नेछन्
गुँड लाउन छोड्नेछन् चराहरूले
माटोसँगको प्रेम तोड्नेछन् जराहरूले
जब निष्ठुर हुनेछ मौसम मेरा लागि
तब ढल्नेछु म बूढो रुख सधैँका लागि
***
तिम्रो एक नजर
नदी झैँ तन्किएको शरीरमा
सल्बलाउँछ मेरो यौवन
मुटुमा काउकुती लाउने गरि
आउँछन् दिमागमा घरिघरि
उच्छृङ्खल र अपराधी शब्दहरू !
लाग्छ म बहादुर छु…!
तडकभडक र छुट्टै सानमा हिँड्छु
सडकका पेटीपेटी
डुल्छु बजारका एकान्त गल्ली
अनि कल्पनामै हराउँदै फेरि दगुरेर पुग्छ
उनले घाँस काट्ने जङ्गल र भिरालो भीर !
म शङ्काग्रस्त छु
यो कलिमध्यको घना जङ्गलमा
कतै ऐँसेलुको काँडाले तिम्रो चोली पो च्यात्यो कि !
कतै तिम्रो अकल्पित कुमारीत्व तारेभीरमा पो बजारियो कि !
म त्रसित छु भयभीत छु ।
आकाशमा मेघ गर्जिदा
क्षितिजमा बिजुली चम्किँदा
तिम्रै नामले भरिन्छ मेरो दिमाग !
हो, अस्ति भुइँचालोले पृथ्वी हल्लाउँदा
सपनामा तिमी चिच्याएको देखें,
कसैले तिम्रो पटुकी फुस्काएको देखें !
तर ब्युँझेर हेर्दा
तिम्रो आँसुको तलाउमा आफूलाई डुबेको पाएँ ।
कल्पित त्यो विशाल ऐनामा
आफूलाई अगाडी उभ्याएँ
मैले त्यँहा तिम्रो एक नजर पाँए
धन्य प्रभू !
भूकम्पले बचाएछ तिमीलाई
म यसरी रमाएँ,
मानौँ, ढुङ्गे देवतालाई फूतपाती चढाँए
कल्पित त्यो विशाल ऐनामा
जब मैले
मुस्कानसहितको तिम्रो एक नजर पाएँ !