सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले पार्टी आमूल परिवर्तनका लागि अघि बढिरहेको बताएका छन् । पार्टी जिल्ला समितिको तेस्रो पूर्ण बैठक तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका उनले आज यस्तो बताएका हुन् ।

Advertisement

एमाले सुधारवादी नभई सुधारको कामले रूपान्तरण गर्ने पार्टी भएको बरालले बताए । ‘पार्टी सुधारवादमा नभई आमूल परिवर्तनमा लागिपर्छ’ बरालले भने । समग्र नेपाली जनताको आर्थिक, सामाजिक समृद्धिका लागि पार्टीले काम गरिरहेको दाबी उनले गरे ।

देशमा राष्ट्रिय पुँजीको विकास गरी समग्र अर्थतन्त्रलाई सामाजिक न्यायको आधारमा रुपान्तरण गर्ने उनको भनाई थियो । देशमा पुँजीपति दलालको रक्षाका लागि दलालहरू लागिपरेको भन्दै बरालले आफूहरू राष्ट्रिय पुँजी विकासको लागि लड्ने बताए ।

मुलुक आर्थिक रूपले सङ्कटमा फसेको अवस्थामा आफ्नो पार्टीले नै निकास दिलाउने बताउँदै उनले अब मुलुक हाँक्न एमालेको विकल्प नभएको दाबी गरे । समाज परिवर्तनका लागि स्वच्छ राजनीति आवश्यकता पर्ने भएकाले राजनीतिसँग जनताको असन्तुष्टि नभएपनि भ्रष्टाचार, अनियमितता, व्यभिचार र ढिलासुस्ती आदिसँग असन्तुष्टि रहेको नेता बरालले बताए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज शेरधन राईले एमालेको राष्ट्रिय सङ्कल्प र मिसन ८४ पूरा गर्ने यात्रा कोशी प्रदेशको धनकुटा जिल्लाबाट सुरु भएको बताए ।

यो यात्राले देशभर उत्साह ल्याउने बताउँदै उनले राष्ट्रिय संकल्प र मिसन ८४ पूरा गर्न जिल्ला, पालिका र टोल हुँदै घरघरमा पुग्ने योजना बनाएर अघि बढ्नुपर्ने उल्लेख गरे । मुलुकको अग्रगमनका लागि एमाले र काङ्ग्रेस मिलेर सरकार बनाएको भन्दै राईले २०८४ पछि एमाले एक्लैले सरकार चलाउन सक्ने हैसियत बनाउने दाबी गरे ।

एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईले धनकुटाको विकासका लागि एमालेको अगुवाईमा धेरै काम भएको बताए । आफू खानेपानी मन्त्री हुँदा जिल्लाका लागि ७ अर्ब भन्दा बढी बजेट ल्याउन सफल भएको भन्दै उनले यसले जिल्लाको विकासमा थप गति दिने विश्वास व्यक्त गरे । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!