मोहन ढकाल/संगालोखबर

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर बस सञ्चालन गर्न तयारी थालेको छ । यसका लागि चीनबाट चारवटा बस ल्याइएको छ । नगर क्षेत्रभर सहज र सरल रूपमा यातायातको सेवा पुर्याउने उद्देश्यले नगरबस खरिद गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

Advertisement

इटहरीले खरिद गरेको नगर बस सोमबार आइपुगेका छन् । एउटा बस करिब डेढ करोड लागतको रहेको जनाइएको छ । इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेलले चाँडै नगरबस सञ्चालन गर्ने जानकारी दिए । नगर बस खरिद समितिका संयोजक समेत रहेका पोखरेलले साउनभित्रै एक दुईवटा नगर बस सञ्चालन हुने बताए ।

उनले संगालोखबरसँग भने, ‘यस विषयमा भोलि हाम्रो छलफल छ । सबै कुरा निर्धारण भएपछि साउनमै सञ्चालन गर्ने योजना हो । एक दुईवटा बस साउनमै सञ्चालन गर्ने कुरा छ ।’ उनले भाडादर कायम गर्ने, कर्मचारी, चालक, सहचालक राख्ने र गाडी दर्ता लगायतका काम बाँकी रहेकाले सबै काम सकेर एक हप्ताभित्रमा बस सञ्चालन हुने जानकारी दिए ।

यसअघि बस सञ्चालनका लागि रुट निर्धारण गरिसकेको बताउँदै उनले भने, ‘कतिपय ठाउँमा बर्खाका कारण सडक बिग्रिएको छ । एक पटक पुनः रुट परीक्षण गरेर कुनकुन स्थान उपयुक्त हुन्छ, त्यहाँ बस सञ्चालन गर्छौँ ।’

बस अपाङ्गमैत्री र सुविधासम्पन्न रहेको उनले बताए । तत्कालका लागि खनारदेखि तल पानीपिया र कान्छी चोकदेखि बुढीखोलासम्म रुट क्लियर भएकाले ती क्षेत्रमा बस सञ्चालन हुने र भित्री क्षेत्रमा रुट परीक्षणपछि मात्रै निर्धारण हुने उनले जानकारी दिए ।

इटहरीले नगरबस सञ्चालनको तयारी थालेसँगै विराटनगरमा पनि फेरि यसबारे चर्चा सुरु भएको छ । विराटनगर महानगरले २०७९ फागुनमा तामझामका साथ रुट परीक्षण गरेपनि नगर बस सञ्चालन हुन सकेको छैन ।

१९ वटै वडामा बस सञ्चालन हुने भनेर प्रचार गरेको महानगरले लामो समयसम्म बस सञ्चालन गर्न सकेको छैन । महानगरमा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला काकीको नेतृत्वमा रुट परीक्षण भएको थियो ।

महानगर स्रोतका अनुसार विराटनगरमा अहिलेसम्म नगरबस सञ्चालनको अत्तोपत्तो छैन । इटहरीमा नगर बस आइसकेको खबर पाएका विराटनगरवासीले सामाजिक सञ्जालमा विराटनगरमा नगर बस आउला नआउला भन्दै चर्चा सुरु गरेका छन् ।

कहिले चढ्न पाइन्छ विराटनगरमा नगर बस ?

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!