संगालोखबर
मोरङ र सुनसरीको सीमा भएर बग्ने बुढीखोलामा आएको बाढी ।

विराटनगर । विराटनगर महानगरसहित मोरङका विभिन्न स्थानमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण नगरका अधिकांश क्षेत्र जलमग्न भएका छन् । राति करिब २ बजेदेखि व्यापक मेघ गर्जनसहित वर्षा भइरहेको हो ।

महानगरका विभिन्न क्षेत्रमा रहेका घरहरुको भुइँतलामा पानी पसेर जलमग्न बनेको भन्दै कतिपय स्थानीय बासिन्दाहरुले सामाजिक सञ्जालमा जानकारी दिइरहेका छन् । विराटनगर–४ की कृष्णा अधिकारीले रातिदेखि ठूलो वर्षा भइरहेकाले नालाहरु भरिएर भुइँतलाका कोठाहरुमा भल पस्दा जलमग्न भएको बताइन् ।

Advertisement

यसैगरी, विराटनगर बसपार्क नजिक पसल रहेका गोविन्दभक्त श्रेष्ठले पानीले निकास नपाउँदा आफ्नो पसल जलमग्न भएको जनाएका छन् । ‘पानी पसेर पसलका धेरै सामानमा क्षति पुगेको छ’ उनले संगालोखबरसँग भने, ‘वर्षाको पानीलाई उचित निकास नदिंदा धेरैको घर र पसलमामा पानी पसेर नोक्सानी भएको छ ।’

मंगलवार रातिदेखि कोशी प्रदेशका सुनसरी, झापा र मोरङमा धेरै पानी परिरहेको छ । सुनसरी र झापामा बाढीले बगाएर तथा चट्याङ लागेर एकै दिन ५ जनाको मृत्यु भएको छ । बाढीले बगाउँदा सुनसरीमा दुईजना बेपत्ता भएका छन् ।

बुढीखोला किनारमा माछा मार्ने क्रममा मोरङको सुन्दरहरैँचा–५ की २२ वर्षीया प्रेमकला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय असरादेवी चौधरी र फुला चौधरी बेपत्ता छन् । मोरङको केराबारी–४ स्थित गोगुने खोलाले बगाएर ११ वर्षीय बालकको मृत्यु भएको छ ।

झापा गाउँपालिका–४, लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलम, कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र गौरीगन्ज–३, का ४२ वर्षीय विकास गिरीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार २४ घण्टामा झापा र सुनसरीमा अत्यधिक पानी परेको छ । सप्तकोशीको चतरामा गरिएको मापन अनुसार गएको २४ घण्टामा १६५.४ मिलिमिटर पानी परेको छ । यस्तै, झापाको अनारमनी बिर्ता स्टेसनमा गरिएको मापनअनुसार गएको २४ घण्टामा १४२ मिलिमिटर पानी परेको छ ।

यस्तै, विराटनगरमा ५७.५, धरानमा ३५.६ मिलीमिटर पानी परेको मौसम विभागले जनाएको छ । विभागले अझै केही दिन पानी पर्ने जनाएको छ । विभागले आगामी २४ घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षा हुने जनाएको छ ।

बुढीखोलामा बगेर एकजनाको मृत्यु, दुईजना बेपत्ता, एकजनाको उद्धार

भिडियो…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!