ओढ्ने आकाश एउटै
टेक्ने धर्ती एउटै
मैले हेर्ने जून र तिमीले हेर्ने जून एउटै
यहाँजस्तै त्यहाँ पनि उही रविको किरण
समय उसरी नै चल्छ समान दिनरात
भरिएपछि मनको गरो
कुन आँखाले चलाउँदैन र समाहा
स्मृतिको सिरसिरे पवनमा
मनले खोलिहाल्छ नि बहेली
विगतलाई उधिनेर छरपस्ट पार्दैमा
सङ्लिन्छ र साइनो
एक झोक्का खुसीले नि
पन्छाउन सक्छ पीरको तुवाँलो
एउटै दृश्यमा अडिएका तिम्रा आँखालाई
सुनाऊ न भूगोलको कथा
सुक्न लागेको मनको तलाउमा पनि
उल्लासका भुराले उराल्छन् सुसेली
त्यसैले त म भन्छु तिमीलाई
जीवन एउटै भोगाइ फरक
निदाउँदैमा समय रोकिँदैन
आफू अनुसारको संसार ।