अम्बिका खरेल उप्रेती
शारीरिक थकाइभन्दा पनि
मानसिक थकाइले
अत्यधिक गल्दो रहेछ शरीर
मन मस्तिष्क विचलित हुँदा वा
कमजोर मनस्थिति उत्पन्न हुँदा
मलमल भुवादारी बिछ्यौनाले पनि
च्वास्स च्वास्स घोच्दो रहेछ
आँखा झिमिक्क पार्दा
अँध्यारोले सताउँदो रहेछ
सिमलको भुवा नि बिजाउँदो रहेछ
फाइबरका सिरकले नि थिच्दो रहेछ
जब एकल भइन्छ नि
कोइलीको कुहु कुहुमा पनि
धरधरी आँशु बग्छन्
न्याउलीको विरहमा झैँ
मर्छन् आशाहरू र
झर्यामझुरुम टुक्रिन्छन् सपनाहरू
न कुनै चाहनाका टुसा पलाउँछन्
न त उम्रिन्छन् आशातीत बिरुवाहरू
समयको वेगसँगै कोरिएका भाग्यरेखामा
स्वार्थी, आडम्बरी र लुटेराहरूको साम्राज्यमा
एकल साँच्चै एक्लो नै हुँदो रहेछ
सामन्ती र अवसरवादीसँग
समाजमा पौँठेजोरी खेल्नुपर्दा
एकल समानताको
सन्तुलन जोख्ने तराजु
साँच्चै न्यायमा कना देखिन्छ
बिना पारिश्रमिक काम गर्ने
कुरौटेहरूको ध्वनि प्रदूषणलाई
बन्देज लगाउन नसक्ने तिमी र म
भ्रष्टाचारी शासकभन्दा पनि
ठूला अपराधी ठहरिने छौँ
सामाजिक हिंसाको अन्त्य गर्न
रुढीवादी परम्परामा
चुकुल लगाउन नसक्दा
अन्ध विश्वासका बिरुवा
हलक्क बढ्छन् र
समाज ध्वस्त बनाउँछन्
बुझेको छु र पर्खेको छु
असल विचारका बाटामा
सधैँ मुस्कुराइरहने छ पारिजात
गुन्जिने छ मिलनको गीत र
स्वाभिमानको शिर उँचो हुँदै
सम्बन्धको धरातल हिमाल चढेर
सत्यको सत्ता चल्ने छ सबैतिर
एकलप्रतिको निरंकश सोचलाई
सर्लक्क खाने छ सद् विचारले
न्यायको तराजु डगमगाउन नदिन
जुट्छन् एकदिन सूर्य जस्तै भएर
परिस्थितिको सुनामी चल्दा पनि
अँध्यारो चिर्दै उज्यालो दिन
सधैँ हतार गरिरहेको
प्रभात जस्तै भएर ।