
धनकुटा । धनकुटामा यही जेठ १० गतेदेखि १८ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरेर जेठ १० देखी १६ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो ।
प्रतियोगिताको विजेता टिमले ६ लाख र उपविजेताले ३ लाख नगद पुरस्कार पाउनेछन् । गत वर्ष विजेतालाई ५ लाख र उपविजेतालाई २ लाख ५० हजार पुरस्कार प्रदान गरिएको भएपनि यसपटक पुरस्कार राशि वृद्धि गरिएको आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए ।
प्रतियोगितामा भारतको जर्जियन फुटबल क्लब, आयोजक टिम, सलहेश युवा क्लब सिराहा, राष्ट्रिय जागृति क्लब सुनसरी, गाईघाट युनाइटेड क्लब उदयपुर, बिर्तामोड युनाइटेड क्लब झापा, बेलबारी फुटबल क्लब मोरङ र सातदोबाटो युथ क्लब ललितपुर सहभागि हुनेछन् ।
२०५५ सालदेखि सञ्चालन थालिएको यो प्रतियोगिता केही वर्ष रोकिएर २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्रलाई बम प्रहार गरेको अभियोगमा वि.सं.२०३५ मा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ ।
श्रेष्ठलाई सरकारले २०७४ सालमा सहिद घोषणा गरेको छ ।


सन्तोष सुवेदी/संगालोखबर 
















