
विराटनगर । मोरङमा क्षयरोगको संक्रमण र यसबाट हुने मृत्युदर चिन्ताजनक देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको ८ महिनामा मोरङमा ३५ जनाले क्षयरोगका कारण ज्यान गुमाएका छन् ।
स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा समाजले विश्व क्षयरोग दिवसका अवसरमा आज विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
कार्यालयका क्षयकुष्ठ अधिकृत मुलकचन्द राजवंशीका अनुसार मृत्यु हुनेमा १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरू बढी छन् ।
तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ४० जनाको मृत्यु भएको थियो भने आ.व. २०८०/८१ मा ३० जनाले ज्यान गुमाएका थिए। संक्रमणको अवस्था हेर्दा चालु आर्थिक वर्षको हालसम्म ९०९ जनामा क्षयरोग पुष्टि भएको छ ।
गत आर्थिक वर्षमा १ हजार २२२ र आ.व. २०८०/८१ मा १ हजार १५० जना संक्रमित फेला परेका थिए ।अधिकृत राजवंशीका अनुसार मोरङका १७ वटै स्थानीय तहमध्ये सुन्दरहरैँचा, पथरीशनिश्चरे र उर्लाबारी क्षेत्रमा संक्रमितको संख्या बढी देखिएको छ ।
हाल जिल्लाका १२३ वटा स्वास्थ्य केन्द्रबाट प्रत्यक्ष निगरानीमा निःशुल्क औषधि सेवन सेवा सञ्चालन भइरहेको छ । मोरङका परियोजना संयोजक रामप्रवेशकुमार महतोले सरकारी स्वास्थ्य संस्थामा क्षयरोगको उपचार पूर्णतः निःशुल्क रहेको जानकारी दिए ।
नेपाल सरकारले सन् २०५० सम्ममा देशबाट क्षयरोग निवारण गर्ने लक्ष्य राखेको छ। यसै सन्दर्भमा `हो! हामी क्षयरोग अन्त्य गर्छौँ; राष्ट्रिय अभियान, हाम्रो योगदान´ भन्ने नाराका साथ भाेलि देशभर विश्व क्षयरोग दिवस मनाइँदैछ ।

संगालोखबर 

















