
विराटनगर । पूर्वी नेपालको अग्रणी स्वास्थ्य संस्था न्युरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलले उदयपुरको गाईघाटमा वृहत ‘मिनी म्याराथन’ तथा ‘निःशुल्क बहु-विशेषज्ञ स्वास्थ्य शिविर’ आयोजना गर्ने भएको छ ।
न्युरोले आफ्नो स्थापनाको २६ औं वर्ष प्रवेशको अवसरमा भदौ १३ गते शनिबार गाईघाटमा स्वास्थ्य सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।
विराटनगरस्थित अस्पताल प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहका बीच अस्पताल प्रशासनले गाईघाटमा हुने कार्यक्रमको रूपरेखा सार्वजनिक गरेको छ ।

२६ औं वार्षिकोत्सव समारोहमा संस्थाका अपरेसनल डाइरेक्टर राजेश भट्टराई, एकेडेमिक निर्देशक एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा. नवीन कुमार कर्ण, मेडिकल निर्देशक एवं वरिष्ठ फिजिसियन डा. विवेक कट्टेल, अस्पताल निर्देशक डा. ऋतिक विष्ट, वरिष्ठ कन्सल्टेन्टहरू, विभाग प्रमुखहरू तथा कर्मचारीहरू सहभागि थिए ।
समारोहमा अस्पतालका वरिष्ठ चिकित्सकहरूले संयुक्त रूपमा केक काटेर २६ वर्षको गौरवशाली यात्राको खुसियाली साटासाट गरेका थिए ।

गाईघाटमा मिनी म्याराथनसँगै न्युरोसर्जरी, मुटु रोग तथा नाक, कान, घाँटी सम्बन्धी निःशुल्क परामर्श सेवा उपलब्ध गराइने अस्पताल प्रशासनले जनाएको छ । यस्तै निःशुल्क प्रेसर, सुगर जाँच तथा निःशुल्क औषधि वितरण गरिने भएको छ ।
अस्पताल प्रशासनका अनुसार २६ वर्ष पूरा गरेको उपलक्ष्यमा समुदायस्तरमा पुगेर नागरिकलाई प्रत्यक्ष लाभ दिने सोचका साथ गाईघाटमा मिनी म्याराथन र शिविरको खाका कोरिएको हो ।

अस्पताल सञ्चालक समिति तथा वरिष्ठ चिकित्सकहरूले विगत अढाई दशकदेखि न्युरो अस्पतालप्रति निरन्तर भरोसा राख्ने बिरामी, शुभचिन्तक एवं अहोरात्र खटिने कर्मचारीप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझै परिष्कृत र प्रविधिमैत्री सेवा थप्दै जाने प्रतिबद्धता जनाएका छन् ।
भदौ १३ गते हुने मिनी म्याराथनमा सहभागी हुन र निःशुल्क स्वास्थ्य शिविरको लाभ उठाउन उदयपुर तथा आसपासका सम्पूर्ण सर्वसाधारणलाई अस्पतालले अनुरोध गरेको छ ।

संगालोखबर 















