संगालोखबर सम्पादकीय

प्रदेश प्रहरीदेखि तल्लो तलका प्रहरी कार्यालयहरुको अनलाइन पेज वा सामाजिक सञ्जालमा लागूऔषध कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरेका सूचना अत्यधिक हुने गर्छन् । लागूऔषधसहित मानिस पक्राउ नपरेको कुनै दिन हुँदैन । कहिलेकाहीँ त दिनमै थुप्रै समूह पक्राउ परेका खबर आउँछन् ।

Advertisement

यसले कोशी प्रदेशका अधिकांश जिल्ला र सहरहरुमा लागूऔषध र लागूपदार्थ दुर्व्यसनको अवस्था, कारोबारी वृद्धि जस्ता कुरालाई प्रष्ट्याउँछ । लागूऔषध प्रयोगको भयावह अवस्था विभिन्न सहरहरुमा देखिन्छ । भारतीय बजारबाट लागूऔषध ल्याउने काम होस् वा पहाडी क्षेत्रबाट गाँजा तस्करी गर्ने काम होस्, यसमा युवाहरुको उल्लेख्य संख्यामा सहभागिता देखिन्छ ।

प्रहरीले कतिपय प्रयोगकर्ता र कारोबारीलाई सहजै पक्राउ गरिरहेको हुन्छ । शंकास्पद लागेको अवस्थामा निगरानी गरी प्रहरीले उनीहरुलाई पक्राउ गर्दै आएको छ । कतिपय अवस्थामा भने बल प्रयोग गरेर पक्राउ गर्नुपरेका उदाहरण पनि छन् ।

यो क्रम बढ्दै गएपछि मोरङमा कारोबारी पक्रन प्रहरीले आक्रामक रणनीति बनाएको छ । विभिन्न स्थानबाट प्रहरीले पछिल्लो दुई सातामा तीनजनालाई गोली हानी नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिन खोज्दा आफैंमाथि आक्रमण गरेको भन्दै प्रहरीले कारोबारीलाई पक्रन गोली चलाएको जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरोले दुई दिनअघि मात्रै मोरङमा एक कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको थियो । ब्युरोबाट खटिएको टोलीले भारतको बिहार, किसनगन्ज घर भएका ४८ वर्षीय भागीरथ हरिजनमाथि मोरङको रतुमाई नगरपालिका– ६ कादुपाडामा गोली प्रहार गरेको हो ।

लागूऔषधको कुलतले युवा वर्गमा नराम्रो असर गरिरहेको छ । बरालिने, दुर्व्यसनी बन्ने, कतिपय त्यसकै लागि चोरी गर्न सक्रिय हुने जस्ता उदाहरण पनि पाइन्छ । युवामा लागूऔषध प्रयोगको भयावह अवस्थालाई ध्यान दिँदै प्रहरीमात्र होइन, समाज, सामाजिक संस्थाहरु अनि अभिभावकहरु पनि सचेत र सतर्क हुनुपर्ने देखिन्छ ।

खुला सीमा भएका कारण सीमावर्ती भारतीय बजारबाट नियन्त्रित लागूऔषध ठूलो परिणाममा ल्याएर कोशीका विभिन्न सहरमा बेच्ने समूहहरु उत्तिकै सक्रिय देखिन्छन् । यस्तो अवस्थालाई ध्यान दिँदै नियन्त्रणको काम प्रभावकारी बनाउन सम्बन्धित निकायहरुबीच समन्वय हुनुपर्ने पनि देखिन्छ ।

यसका साथै आफ्ना छोराछोरी कुलतमा पो फसेका छन् कि भन्नेतर्फ अभिभावकहरु पनि सचेत हुनैपर्छ । सुरुआती अवस्थामै थाहा भयो भने कुलतबाट छुटकारा दिलाउन उति गाह्रो हुँदैन । तर ध्यान नदिने, बेवास्ता गर्दै जाने हो भने गम्भीर अवस्था भएपछि मात्र थाहा पाएर पछुताउनुपर्ने स्थिति बन्नसक्छ । त्यसैले लागूपदार्थ प्रयोगबाट युवा पुस्तालाई जोगाउन अनि समाजमा क्षति हुनबाट रोक्न सबैको सक्रिय निगरानी अत्यावश्यक छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!