संगालोखबर सम्पादकीय

कोशी प्रदेशको राजधानी विराटनगरमा ढिलै भए पनि सवारी सञ्चालनलाई व्यवस्थित गर्न पहिलो पटक ट्राफिक लाइट जडान गरिएको छ । कोशी राजमार्गमा पर्ने व्यस्त चोक बरगाछीमा जडान गरिएको ट्राफिक लाइटका कारण हिजो साँझदेखि त्यहाँको दृश्य नै फरक देखिन थालेको छ ।

Advertisement

ट्राफिक लाइटमा संकेतसूचक बत्ती बल्छ । सवारी साधनहरू त्यसअनुसार निर्धारित ठाउँमा रोकिन्छन् । भरखरै पुनः रङ्गाइएको जेब्रा क्रसबाट पैदलयात्री बाटो आरपार गर्छन् । अनि फेरि ट्राफिक लाइटको संकेतअनुसार सवारी साधन आफ्नो गन्तव्यतर्फ लाग्छन् ।

सुरुआती दिन भएर हुन सक्छ, गाडीहरू रोकिँदा पैदलयात्रीहरूले बाटो काट्ने सही तरिका नअपनाएको पनि देखिएको छ । अलमलिएर जेब्राक्रस भएको स्थानभन्दा अरुतिरैबाट सडक पार गर्दै गरेको दृश्य देखिएको थियो । कतिपय सवारी साधन चालकहरू पनि अलमलिएको पाइएको थियो । यस्तो अवस्थामा ट्राफिक प्रहरीले चेतनामूलक कार्यक्रम पनि गर्नुपर्ने देखिएको छ । त्यसो गरे केही समयको अभ्यासपछि अवस्था सहज हुनेछ । 

संघीय राजधानी काठमाडौँ लगायत ठूला सहरहरूमा यो अभ्यास निकै छ । धेरै अघिदेखि यसैगरी व्यवस्थित गरी सवारी साधन सञ्चालन हुने गरेका छन् भने पैदलयात्रीलाई पनि सजिलो भएको छ ।

बढ्दो जनघनत्व, त्यसैअनुसार तीव्र रूपमा वृद्धि भइरहेका सवारी साधनको सङ्ख्याको तुलनामा विराटनगरको एकमात्र ठाउँमा ट्राफिक लाइट पर्याप्त छैन । मुख्य बजार क्षेत्रको सडक कोशी राजमार्गभन्दा अझ साँघुरो छ । त्यहाँ मानिसहरूको आउजाउ पनि बाक्लो हुने गरेको छ । सवारी साधन पनि उस्तै । आवश्यकता अनुसार अब त्यस्ता ठाउँहरूमा पनि ट्राफिक लाइटको व्यवस्था गर्नु जरूरी देखिएको छ ।

प्रहरीको दैनिक तथ्याङ्क अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै दुर्घटना मोरङ, सुनसरी र झापामा हुने गरेका छन् । अन्य जिल्लामा फाटफुट रूपमा दुर्घटना भएको तथ्याङ्क पाइन्छ । राजमार्गको ठूलो भाग भएको, सवारी साधन धेरै भएको अनि व्यस्त सहरहरू भएकाले पनि यी तीन जिल्लामा दैनिक कम्तीमा पनि दर्जन वटा दुर्घटना भएकै हुन्छन् ।

दुर्घटना न्यूनीकरण गर्नका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिएको धेरै भएको छ । सचेतना सँगसँगै सवारी साधनहरू ठिक अवस्थामा रहे, नरहेको पनि हेर्नु आवश्यक छ । चालकहरूको अवस्था अनि सडककै अवस्था पनि के कसो छ भन्ने निरन्तर निगरानी आवश्यक हुन्छ ।

विराटनगरकै कुरा गर्दा, जोगबनीदेखि यता आउँदा धेरै स्थानमा कालोपत्रे सडक बीच बीचमा भासिएको अवस्था छ । नियमित आउजाउ गर्नेहरूले त त्यस्तो ठाउँबारे जानेका छन् र सावधानी अपनाउँछन् । नयाँ सवारी चालकहरू त्यस्तो अवस्थाबारे जानकार नहुँदा दुर्घटना हुने गरेको छ । दुर्घटना निम्त्याउने त्यस्तो संरचना सुधार नगरी नहुने अवस्थाको छ । यतातिर पनि सम्बन्धित निकायको ध्यान जानैपर्छ ।

विराटनगरको व्यस्त बरगाछी चोकमा ट्राफिक लाइट सञ्चालन

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!