मालिकको अन्न फलाउँछु तर मेरो भोको पेट कसले देख्ने
उनकै लुगा सिलाउँछु तर मेरो नाङ्गो आङ कसले देख्ने
तिनले कामै नगरी मिठै खाछन्, लाछन् कस्तो छ दुनियाँ
उनकै बस्तु चराउँछु तर मेरो खाली गोठ कसले देख्ने
***
न आँधी–हुरी न घाम–पानी भन्छ दिनरात मरुन्जेल खट्छ
भीरमा सडक र मालिकको महल बनाउँछ, बाँचुन्जेल खट्छ
कमाउनेले उसलाई खटाएरै, बिकाएरै कुम्ल्याए पैसाका रास
श्रमिक आफ्नो हड्डी घोट्छ, जहान धान्न कठै ढलुन्जेल खट्छ
***
निम्छरो होइन साहसिक जीवन जिएरै छोड्छु
सधैँ मलाई हेप्नेको रातो रगत पिएरै छोड्छु
सपना बाँढ्दै मलाई ढाँट्न छाडेनौ तिमीहरुले
पख, मेरो श्रमको उचित मूल्य लिएरै छाड्छु ।
*** *** ***