
काठमाडौं । नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिज ‘ए’ ले काठमाडौंमा जारी पाँच खेलको टी–२० शृंखला जितेको छ ।
बिहीवार टीयू क्रिकेट मेदानमा नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिजले एक खेल अगावै शृंखला जितेको हो । आज दुई सय १० रनको विजय लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरभन्दा १ बल अगावै १८१ रनमा अल आउट भयो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुल्शनझाले सामान १९–१९ रन बनाए ।
यसअघि नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने त्यसपछि नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रन, ७६ रन र आज २८ रनले पराजित भएको हो । अन्तिम खेल शनिबार हुनेछ । शनिबार नेपाल शृंखलाको सुखद अन्त्य गर्ने उद्देश्यसहित मैदान फर्किने छ ।