माधव घिमिरे/संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर १४ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेको छ । नवनिर्मित भवनको मेयर नागेश कोइरालाले मंगलबार उद्घाटन गरे ।

Advertisement

भवन निर्माणका लागि स्थानीय समाजसेवी जगदीशप्रसाद यादवले २ कठ्ठा १० धुर जमिन निःशुल्क उपलब्ध गराएका थिए ।

त्यस अवसरमा मेयर कोइरालाले स्वास्थ्य केन्द्रको आफ्नै भवन निर्माणले स्वास्थ्य सेवा प्रवाहमा सहज हुने बताए ।

उनले स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने जनशक्ति र उपकरण क्रमैसँगै व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । महानगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ थियो ।

महानगरका १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर, विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा विराटनगरलाई मोतियाबिन्दुमुक्त बनाउने अभियान सञ्चालन, ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको घरमै पुगेर निःशुल्क स्वास्थ्य चेकजाँच र औषधि वितरण, निःशुल्क रुपमा एम्बुलेन्स सेवा लगायतका कामलाई महानगरले गरिरहेको उनले उल्लेख गरे ।

उपमेयर शिल्पा निराला कार्कीले महानगरले दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका कार्य अगाडि बढाइरहेको जानकारी दिइन् ।

वडा १४ का अध्यक्ष सूर्यनारायण महतोको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले भौतिक संरचना निर्माण भएर मात्रै नहुने बताउँदै सेवा प्रवाहलाई गुणस्तरीय र सहज बनाउनुपर्नेमा जोड दिए ।

नवनिर्मित भवनमा स्वास्थ्य उपचारसँगै स्वास्थ्यसँग सम्बन्धित तालिमलगायतका कार्य गर्नसमेत सहज हुने उनको भनाइ थियो ।

कार्यक्रममा जग्गादाता जगदीशप्रसाद यादवलाई महानगरपालिकाका तर्फबाट सम्मान गरिएको थियो ।

यादवलाई मेयर कोइराला र उपमेयर कार्कीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

भवनमा अपाङ्गता भएका व्यक्तिलाई आवतजावतका लागि संरचना, शौचालय, ८ कोठा र एउटा हल छ । २४ सय स्क्वायर फिटको सो भवन निर्माण सम्पन्न गर्न ७५ लाख रुपैयाँ खर्च भएको महानगरको भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।

९६ लाख लागत अनुमान गरिए पनि ७५ लाखमा भवन निर्माण सम्पन्न भएको थापाले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement