
भोजपुर । भोजपुरको अरुण गाउँपालिका-७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा आईसीटी कक्षा सञ्चालनका लागि देउसी-भैलोबाट ७ लाख ५० हजार रकम संकलन भएको छ ।
विद्यालयमा सूचना तथा सञ्चार प्रविधि कक्षा सुरु गरी विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले देउसी-भैलोमार्फत रकम संकलन गरिएको हो ।
सगरमाथा माध्यमिक विद्यालयलाई उत्कृष्ट एवं शैक्षिक रूपमा सफल बनाउँदै कम्प्युटर कक्षा सञ्चालन गर्ने पवित्र उद्देश्यका साथ देउसी-भैलोमार्फत रकम संकलन गरिएको व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ७ का वडाध्यक्ष कुमार थापाले जानकारी दिए ।
उनले यस अभियानमा जोडिएर अभियानलाई सफल बनाउन भूमिका खेल्ने स्थानीय, विद्यालयका शिक्षक-कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।
विद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि आयोजना गरिएको देउसी-भैलो कार्यक्रम अरुण गाउँपालिका विभिन्न क्षेत्रमा पुर्याइएको थियो ।

संगालोखबर 



















