संगालोखबर


विराटनगर । विराटनगरको रानी नाकालाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरपालिका र सुरक्षा निकायको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको छ ।

सीमा क्षेत्रमा बढ्दै गएको अव्यवस्थित पार्किङ, सरसफाइको समस्या, शौचालय व्यवस्थापन तथा चोरीतस्करी नियन्त्रणका विषयलाई केन्द्रमा राखेर टोलीले अनुगमन गरेको हो ।

Advertisement

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको नेतृत्वमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा, मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारी र राष्ट्रिय अनुसन्धान विभाग मोरङका प्रमुख राजन सापकोटासहितको टोलीले सीमा नाकाको अवस्थाबारे स्थलगत जानकारी लिएका हुन् ।

अनुगमनका क्रममा सीमा क्षेत्रको फोहोर व्यवस्थापन, सार्वजनिक शौचालयको अवस्था, सवारीसाधनको पार्किङ, आवागमनमा देखिएका समस्या तथा सुरक्षा व्यवस्थाबारे छलफल भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।

महानगरपालिका र जिल्ला प्रशासनसहितका सुरक्षा निकायबीच समन्वय गरेर सीमा क्षेत्रका समस्या समाधान गर्ने विषयमा समेत छलफल भएको उनले बताए । विशेषगरी नेपालतर्फको ढाट र त्यस आसपास क्षेत्रमा देखिएको अव्यवस्थित पार्किङलाई तत्काल व्यवस्थित गर्नुपर्ने विषयमा टोलीले चासो देखाएको छ ।

सवारी-साधन जथाभावी पार्किङ हुँदा नेपाल र भारतबीच आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । यसलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन महानगर प्रमुख कोइरालाले निर्देशन दिए ।

महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार सीमा क्षेत्रमा सवारी आवागमन सहज बनाउन पार्किङ व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । सडक तथा नाकाको आसपासमा जथाभावी सवारी रोक्ने प्रवृत्तिले पैदलयात्रु र सवारी-साधन दुवैलाई समस्या पारिरहेको छ ।

त्यसैले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने र सम्बन्धित निकायबीच नियमित समन्वय गर्ने विषयमा समेत छलफल भएको छ । अनुगमन टोलीले भारततर्फ यात्रा गर्ने नेपाली नागरिकलाई सम्भावित समस्या र जोखिमबाट जोगाउन राखिएको सचेतनामूलक सूचना पाटीको समेत अवलोकन गरेको थियो ।

महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङको पहलमा सीमा क्षेत्रमा राखिएको उक्त सूचना पाटीमा नेपाली, अंग्रेजी र हिन्दी भाषामा यात्रुले ध्यान दिनुपर्ने विषय समेटिएका छन् । भारत प्रवेश गर्दा आवश्यक सावधानी, यात्राका क्रममा अपनाउनुपर्ने सुरक्षा उपाय तथा सम्भावित ठगी र अन्य समस्याबाट बच्ने उपायबारे जानकारी दिने उद्देश्यले सूचना पाटी राखिएको हो ।

सूचना पाटीमा राखिएको सङ्केत चिह्न स्क्यान गरेर यात्रुले मोबाइलबाटै विस्तृत जानकारी लिन सक्ने व्यवस्था पनि मिलाइएको छ । सीमा नाकामा हुने आवागमनलाई सहज बनाउनुका साथै यात्रुको सुरक्षा र सुविधालाई प्राथमिकता दिन यस्ता सचेतनामूलक अभियान प्रभावकारी हुने मेयर कोइरालाको दाबी छ ।

नेपाल-भारतबीच दैनिक ठूलो संख्यामा मानिसको आवतजावत हुने रानी नाकामा व्यवस्थित पार्किङ, सफा वातावरण, पर्याप्त सार्वजनिक शौचालय र प्रभावकारी सुरक्षा व्यवस्थापनमा चुनौती हुँदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!