
विराटनगर । विराटनगर विमानस्थलमा आज बिहान चितुवा देखिएको भन्दै चर्चा भइरहेको छ । विमानस्थलमा चितुवा देखिएको भन्दै सामाजिक सञ्जाल लगायतमा सतर्कता अपनाउन भन्दै भिडियो पनि पोष्ट भएका छन् ।
तर यो समाचार तयार पार्दासम्म चितुवा देखिएको पुष्टि भएको छैन । ‘चितुवा देखिएको भनेर हल्ला फैलियो । अहिलेसम्म खोजी गर्दा भेटिएको छैन’, विराटनगर विमानस्थलका प्रमुख सुवास झाले संगालोखबरसँग भने, ‘अँध्यारोमा कुनै किसिमको त्यस्तै जनावर भित्र छिर्यो की भन्ने शंका भयो । विमानस्थल वरिपरि त्यस्तो झाडी पनि छैन ।’
सुरक्षा निकायसहितको टोलीले खोजी गरिरहेपनि अहिलेसम्म फेला पार्न नसकेको उनले बताए । तर पनि सावधानी भने अपनाइएको उनको भनाइ छ । अहिले पनि आर्मीले निगरानी गरिरहेको उनले जानकारी दिए ।
यो भन्दा पहिला विमानस्थलमा देखा परेका दुई वटा नीलगाई निकुञ्जमा बुझाइएको थियो । ‘यो भन्दा पहिला नीलगाई देखिएको थियो । बँदेल पनि देखिएको थियो’, उनले भने, ‘तर चितुवा देखिएको थिएन ।’

संगालोखबर 



















