रबिन कटेल/संगालोखबर

विराटनगर । विराटनगरमा अब खानेपानी वितरण सहज हुने भएको छ । जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको खानेपानी सुधार आयोजनाको काम सम्पन्न भएकाले खानेपानी वितरणमा सुधार हुने भएको हो । निर्माण सम्पन्न भएको आयोजना आज औपचारिक कार्यक्रम गरेर नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरी उद्‌घाटन पनि गरिएको छ ।

Advertisement

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र जापानी राजदुत तोरु माइदाले संयुक्त रुपमा आयोजना उद्‌घाटन गरे । कार्यक्रममा बोल्दै मेयर कोइराला, राजदुत माइदा, खानेपानी संस्थानका निमित्त महाप्रबन्धक शैलेन्द्रकुमार शाह, खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोषकुमार रौनियार लगायतले यो परियोजना सञ्चालनपछि विराटनगरमा खानेपानी वितरण सहज हुने धारणा राखे ।

जापान सरकारको २ अर्ब २९ करोड जापानी येन अनुदान सहयोगमा विराटनगरमा खानेपानीको उत्पादन र भण्डारण क्षमता वृद्धि गर्नुका साथै पानी शुद्धिकरण र वितरण प्रणाली सुधार गरिएको हो ।

विराटनगरमा यसअघि गर्मीको समयमा पानीको चाप कम भएर तलामाथि टंकीमा नचढ्ने, पानी नियमित नआउने लगायत समस्या हुँदै आएको थियो । तर अब ठूलो आयोजना निर्माण सम्पन्न भएकाले समस्या समाधान हुनेमा महानगरवासी आशावादी छन् ।

विराटनगरमा यसअघि दैनिक ८० लाख लिटर पानी वितरण गरिदै आएको थियो । अब दैनिक डेढ करोड लिटर पानी वितरण गर्न सकिने भएकाले खानेपानी समस्या सुधार हुने खानेपानी संस्थानले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!