
विराटनगर । मोरङको रंगेलीमा निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । रंगेली नगरपालिका-५ बगुवानका १८ वर्षीय अभय सरदारको करेन्ट लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार आज बिहान करिब ७ः२० बजे आफ्नै निर्माणाधीन एकतले घरको छतमा पानी हालिरहेको बेला नजिकै रहेको ११ हजार भोल्टको विद्युत् तारबाट उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याइएकोमा चिकित्सकले बिहान ८ः३० बजे मृत घोषणा गरेका हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 



















