
पटकको हिसाब हुन्न यहाँ लगातार हुन्छ
आमाको माया हो यार यो अपार हुन्छ
सोच्नेले त छिनमै अनेक संसार सोच्लान्
म कसरी सोचूँ तिमीबिनाको संसार हुन्छ ?
होचोबिना अग्लो कसरी अग्लो भो सोचिन्न
बरु होचोकै मुखमा घोचो प्रहार हुन्छ
त्यहाँ माया गर्नुको पनि खै के सार होला
जहाँ माया गर्ने मुटुहरूकै व्यापार हुन्छ
यो गरिबको पसिना हो नभन जाबो पाँच सय
बरु आउ थप पाँच सय अनि पो हजार हुन्छ
००००००
राम्रो होस् सधैँ भनी भन्ने को छ तिमी बाहेक
दुख पर्दा म छु त नि भन्ने को छ तिमी बाहेक
सानै गल्ती किन नहोस् दुनियाँले ठूलो देख्छ,
कैलेकाहीँ त भैहाल्छ नि भन्ने को छ तिमी बाहेक
जोखिदिए धन दौलत, पराइ ठानेँ आफ्नाले नि,
मनको रैछौ लास्टै धनी भन्ने को छ तिमीबाहेक
मरौँ लाग्छ मर्छु भन्छु हाँसिदिन्छन् अरुहरू,
नजिस्कन तिमी पनि भन्ने को छ तिमी बाहेक
०००००
छातिभित्र आगो लाग्यो निभाउन आउन प्रिय
सुख्खा भयो जिन्दगी यो भिजाउन आउन प्रिय
जति जतन गरे पनि कैलेकसो फाटिहाल्ने
मनै न हो फाटिगयो सिलाउन आउन प्रिय
बेहिसाब चोट मेरा अगणित छन् सपना पनि
मिलेन हिसाब जिन्दगीको मिलाउन आउन प्रिय
मनमा थियौ मनमै राख्थेँ पक्का अधिकार पाए
खोसिगयो अधिकार त्यो दिलाउन आउन प्रिय
बि.एन. ढकाल
अरुण गाउँपालिका-५ भोजपुर





















