
विराटनगर । विराटनगरको ठूलोमिलस्थित राधाकृष्ण शिव पञ्चायन मन्दिरमा सामूहिक जमरा राखिने भएको छ । पोखरिया युवा समूह, राधाकृष्ण भजन मण्डली तथा राधाकृष्ण शिव पञ्चायन मन्दिरको संयुक्त आयोजनामा सामूहिक जमरा राखिने भएको हो ।
२०६५ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको सामूहिक घटस्थापना, चण्डी पाठ तथा सामूहिक जमरा राख्ने कार्यक्रमलाई यस वर्षपनि निरन्तरता दिइने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
विगत १८ वर्षदेखि सञ्चालन हुँदै आएको धार्मिक अनुष्ठानमा ३५० भन्दा बढी घरधुरीले घटस्थापनाका दिन आ-आफ्नो सङ्कल्प गरी जमरा राख्ने र विजयादशमीका दिन घर लैजाने पोखरिया युवा क्लबका अध्यक्ष पेशल ढुंगेलले जानकारी दिए ।
आयोजक समितिले माता दुर्गा भवानीको मण्डप तयार गरी विधिपूर्वक नवौँ दिनसम्म चण्डी पाठ सञ्चालनका लागि कोशी प्रदेश सभा सदस्य भीम पराजुलीलाई कर्ताका रूपमा राख्ने जनाएको छ ।
प्रतिपरिवार ५ सय रुपैयाँमा सामूहिक जमरा राख्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । दशैँभर हरेक दिन बिहान नवदुर्गा पूजा तथा चण्डी पाठ र साँझ आरती एवं सत्सङ्ग सञ्चालन हुनेछ ।
फूलपातीका दिन बाजागाजा र झाँकीसहित फूलपाती भित्र्याउने, अष्टमीका दिन कालरात्री पूजा, नवमीका दिन होम/हवन तथा दशमीका दिन जमरा वितरण गरिने आयोजक समितिले जनाएको छ ।

संगालोखबर 



















