
विराटनगर । विराटनगरमा रात्रिकालीन व्यवसाय सञ्चालनका लागि आजबाट जिल्ला प्रशासन कार्यालय मोरङले निवेदन माग गरेको छ । ‘रात्रिकालीन होटल तथा व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड, २०८३’ आजबाट लागू भएसँगै प्रशासनले निवेदन माग गरेको हो ।
‘आजबाट रात्रिकालीन व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड लागू गरेको हो । यसको अर्थ आजैबाट निर्वाधरूपमा सबै होटल रेष्टुरेन्टहरू चल्न पाउँछन् भन्ने हैन’, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले संगालोखबरसँग भने, ‘यसको लागि सर्वप्रथम जिल्ला प्रशासन कार्यालयबाट अनुमति पाएको हुनुपर्छ ।’
जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका होटल, रेष्टुरेन्ट डिस्को, लाउन्ज लगायतका व्यवसाय मात्रै राति २ बजेसम्म सञ्चालन गर्न पाइने उनले जानकारी दिए । अनुमति नलिएका व्यवसायीले राति १० बजेसम्ममात्रै व्यवसाय सञ्चालन गर्न पाउनेछन् ।
निवेदन दिएकै आधारमा मात्र व्यवसाय सञ्चालनको अनुमति भने नपाइने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । ‘निवेदनको आधारमा मात्र राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइँदैन’, उनले थपे, ‘निवेदनपछि मापदण्ड पुगे/नपुगेको अनुगमनपछि मात्रै व्यवसाय सञ्चालनको अनुमति प्रदान गरिन्छ ।’
रात्रिकालीन व्यवसाय सञ्चालनका लागि मापदण्ड पुगे/नपुगेको अनुगमन गर्नका बनाइएको कमिटीले अनुगमन गरेपछि मात्रै अनुमति प्रदान गरिने छ । ‘आजबाट २ बजेसम्म रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाइन्छ भनेर प्रचार भइरहेको पनि पाइएको छ’, उनले भने, ‘आज (करिब १ः३० बजेसम्म) एउटा पनि निवेदन आएको छैन । निवेदन आउने बित्तिकै सञ्चालन गर्न पनि पाइँदैन । त्यसको लागि अनुमति प्राप्त हुनुपर्छ ।’
निवेदन आएर अनुमति प्राप्त नभएसम्म राति १० बजेसम्म मात्रै व्यवसाय सञ्चालन गर्न पाइने उनले बताए । अनुमति नपाएकाको हकमा भने राति १० बजेसम्मको समय लागू हुनेछ । ‘अनुमति पाएका रेष्टुरेन्ट व्यवसाय मात्र राति २ बजेसम्म सञ्चालन हुन पाउँछन्’, उनले थपे, ‘अन्यको हकमा १० बजेसम्म मात्रै हो ।’
राति १० बजेसम्म सञ्चालन हुने व्यवसायले भने छुट्टै अनुमति लिनु नपर्ने उनले बताए । नयाँ मापदण्डअनुसार पान पसल, मिठाई, चिया, आइसक्रिम, किराना, रेस्टुरेन्ट, खाना-खाजा पसल, दोहोरी तथा गजललगायतका व्यवसाय अनुमति लिएर राति १२ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
लाइभ म्युजिक, पब, डान्स क्लब, डिस्को र लाउन्ज बारलाई भने राति २ बजेसम्म सञ्चालन गर्न दिइनेछ । तर मदिरा बिक्री र सेवनमा छुट्टै सीमा तोकिएको छ । रात्रिकालीन अनुमति प्राप्त व्यवसायले दिउँसो १२ बजेअघि मदिरा बिक्री तथा सेवन गराउन पाउने छैनन् ।
मापदण्ड अनुसार शुक्रबार राति १ बजेपछि र अन्य दिन राति १२ बजेपछि मदिरा बिक्री वा सेवन गराउन रोक लगाइएको छ । मदिरा बिक्री पसलको समय भने बिहान १० देखि राति १० बजेसम्म कायम गरिएको छ ।
डान्सबार, दोहोरी, लाइभ ब्याण्ड, पब, क्लब तथा डिस्कोमा १८ वर्षमुनिका बालबालिकालाई प्रवेश निषेध गरिएको छ । यस्ता स्थानमा सुर्ती तथा मदिरा बिक्री गर्न नपाइने र धूम्रपानका लागि छुट्टै क्षेत्र बनाउनुपर्ने उल्लेख छ ।
रात्रिकालीन गतिविधिलाई सुरक्षित बनाउन ग्राहकले राति १० बजेपछि घरबाहिर निस्कँदा परिचय खुल्ने कागजात साथमा राख्नुपर्नेछ । सुरक्षाकर्मीले मागेका बेला त्यस्तो कागजात देखाउनुपर्ने व्यवस्था गरिएको छ । होटलमा बस्ने नेपाली तथा विदेशी नागरिकको परिचयपत्र र पासपोर्टको विवरणसमेत व्यवस्थित रूपमा अभिलेख राख्नुपर्नेछ ।
मदिरा सेवन गरेका ग्राहकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने जिम्मेवारी पनि व्यवसायीकै हुनेछ । होटल तथा रेस्टुरेन्टले न्यूनतम अतिरिक्त शुल्क लिएर ग्राहकका लागि ‘ड्रप’ सेवा उपलब्ध गराउनुपर्ने मापदण्डमा उल्लेख छ ।

मोहन ढकाल/संगालोखबर 



















