
विराटनगर । विराटनगर महानगरपालिका-१ भट्टाचोकस्थित समता मार्गका स्थानीय अलपत्र सडकका कारण दिनहुँ सास्ती खेप्न बाध्य छन् । एम्बुलेन्स, सिटी सफारी लगायतका सवारी साधन सहजै आवत-जावत गर्न सक्ने अवस्था छैन । जसका कारण बिरामीलाई समयमै उपचारका लागि अस्पताल लैजान पनि समस्या छ ।
सडकबाट पैदल हिड्न सक्ने अवस्था छैन । नालाभन्दा सडक होचो स्थानमा भएका कारण पानी जमेर हिलाम्मे छ । नालापनि ढक्कन नलगाएर खुला नै छाडिएका कारण यसले अर्को जोखिम निम्त्याएको स्थानीय बताउँछन् ।
‘बालबालिकाहरू नालामा पर्ने जोखिम छ । वृद्धवृद्धा र बिरामीलाई पनि उस्तै समस्या छ’, स्थानीय मनिष खड्काले भने, ‘सडकका कारण ४०/५० घरका नागरिकले सास्ती भोगिरहेका छौँ ।’
उनका अनुसार करिब ३ वर्षदेखि बाटोको अवस्था नाजुक छ । सम्बन्धित निकायलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको उनले बताए । केहिदिन अघि हिलाम्मे सडकबाट एम्बुलेन्स प्रवेश हुन नसक्दा १० वर्षीया बालिकालाई समयमै अस्पताल पुर्याउन नसक्दा उनको ज्यान गएको खड्काले बताए ।
‘तत्काल सडकमा गिट्टीबालुवा हालेर सहज आवत-जावत गर्न सक्ने वातावरण बनाइदिनु बनेर वडा कार्यालयमा बारम्बार भनिसकियो । तर अहिलेसम्म वडाले चासो दिएको छैन’, उनले थपे, ‘पटक-पटक पुगेर हामीले ध्यानाकर्षण पनि गराइसकेका छौँ । तर ३/४ वर्षदेखि बाटोको अवस्था जस्ताको त्यस्तै छ ।’
सोही स्थानका जगदीश मिश्राले सडककै कारण १० वर्षीया नातिनी सुनाक्षीले ज्यान गुमाउनुपरेको बताए । ‘बाटोका कारण एम्बुलेन्स आउन सकेन । नातिनीलाई समयमा नै अस्पताल पुर्याउन नसक्दा उसको ज्यान गयो’, उनले भने, ‘पछि मोटरसाइकलमा राखेर अस्पताल लगियो । तर डाक्टरहरूले मृत घोषणा गर्नुभयो ।’
हिलोका कारण एम्बुलेन्स लगायतका सवारी साधनहरू आवत-जावतमा समस्या रहेको उनले बताए । सडकका कारण थुप्रै समस्या भोग्न बाध्य हुनुपरेको उनले गुनासो गरे ।

सोही स्थानकी लिला साहको गुनासो पनि उस्तै छ । उनले पनि भद्रगोल सडकका कारण थुप्रै समस्या पाएकी छिन् । ‘धेरै समयदेखि सडकको अवस्था यस्तै छ । हामी दिनहुँ समस्या भोगिरहेका छौँ’, उनले भनिन्, ‘वडा कार्यालयबाट यसको समाधानका लागि कुनै पहल भएको छैन ।’
स्थानीय चन्द्रनारायण चौधरीले पनि अलपत्र सडकका कारण भोग्नु परेको समस्या बारे सुनाए । नालाभन्दा सडक होचो हुँदा लामो समयसम्म पानी जम्नुका साथै हिलाम्मे सडकमा आवत-जावत गर्न निक्कै कठिन भएको उनको भनाइ छ ।
‘जब नाला बन्यो त्यसपछिदेखि सडकमा पानी जम्न थाल्यो । खाल्डा परेको सडक पनि हिलाम्मे छ’, उनले भने, ‘पानी निकास हुन नपाएपछि यो अवस्था आएको हो ।’ सम्बन्धित पक्षबाट आश्वासन पाएपनि अहिलेसम्म सडकको अवस्था सुधार हुन नसकेको उनले बताए ।
उनीहरू केही प्रतिनिधि पात्र मात्रै हुन् । उक्त सडक भएर दैनिक आजत–जावत गर्ने ४०/५० घरपरिवारका नागरिकको पीडा उस्तै छ । उनीहरूले हिलाम्मे सडकमा तत्काल गिट्टी बालुवा हालेर सहज आवत–जावतको वातावरण मिलाउन सम्बन्धित पक्षसँग माग गरेका छन् ।
सडकको समस्या समाधानको माग गर्दै आज स्थानीयले वडा नम्बर १ का वडाध्यक्ष काजीबहादुर बस्नेतलाई भेटेर ध्यानाकर्षण समेत गराएका छन् । ‘हामी सबै मिलेर पैसा उठाएर वडा कार्यालयमा बुझाउन गएको हौं । सडकबाट सहज आवत-जावत गर्ने वातावरण तत्काल बन्नुपर्यो भन्ने हाम्रो माग हो’, स्थानीय मनिष खड्काले थपे’, ‘वडाध्यक्षले हप्तादिनभित्रमा समस्या समाधान हुने आश्वासन दिनुभएको छ । हामी प्रतिक्षामा छौँ ।’
वडाध्यक्ष बस्नेतले पनि हप्तादिनमा सडकका खाल्डाखुल्डी पुरेर आवात-जावत सहज बनाइदिने बताए । ‘अघिल्लो वर्षको बजेटमा पनि उक्त बाटो निर्माणका लागि बजेट परेको थियो । तर काम हुन नसकेर बजेट फ्रिज भयो’, वडाध्यक्ष बस्नेतले भने, ‘अबको हप्तादिनमा सडकको खाल्डाखुल्डी पुरेर सहज आवत-जावतको वातावरण बनाउँछौं ।’
उनका अनुसार संघीय सरकारबाट आएको बजेटबाट उक्त बाटो निर्माणको काम सुरु भएको थियो । ‘वडा कार्यालयले स्थानीयको समस्यालाई बेवास्ता गरेको हैन’, उनले थपे, ‘काम हुन नसक्दा बजेट फ्रिज हुँदा समस्या भएको हो ।’

मोहन ढकाल/संगालोखबर 














