
विराटनगर । विराटनगर-४ गणेश चोकमा मध्यराति घरको तीन तलामाथिबाट खसेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्न सकेको छैन् । आइतबार बिहानको राति करिब १२ः२० बजे पुरुषोत्तम न्यौपानेको घरको छतबाट खसेर मृत्यु भएका अन्दाजी ३४/३५ वर्षीय पुरुषको पहिचान नखुलेको हो ।
‘अहिलेसम्म पहिचान खुलेको छैन । पहिचान खुलाउनका लागि प्रयास गरिरहेका छौं’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘पहिचान खुलाउने प्रयास भइरहेको छ । मृतकको खल्तीमा पनि कुनै पहिचान खुल्ने कागजपत्र भेटिएन ।’
मान्छे हराएको भनेर पनि कुनै निवेदन वा जानकारी नआएको उनले बताए । कहाँको मान्छे हो भनेर अहिले भन्न सक्ने अवस्था नरहेको उनले जानकारी दिए । ‘प्रारम्भिक अनुसन्धानका क्रममा चोरी गर्नकै लागि घरमा चढेको देखिन्छ’, उनले थपे, ‘अरु त्यस्तो कारण पाइएन । चोरी गर्ने नियत नै देखिन्छ ।’
तीन तला माथिबाट खसेका कारण मृतकको अनुहार क्षतविक्षत रहेको उनले बताए । जसका कारणले पनि पहिचानमा थप समस्या देखिएको छ । ‘तीन लताबाट खसेपछि शारीरिक अवस्था क्षतविक्षत छ’, उनले भने, ‘त्यस्तो फोटो सामाजिक सञ्जालमा राख्न सक्ने अवस्था छैन ।’
छिमेकको अर्को घरबाट माथि चढेका ती व्यक्ति पछि न्यौपानेको घरमा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तीन तलामाथि पुगेका उनी घरधनीले थाहा पाएर हो-हल्ला गर्दा हामफालेर भाग्न खोजेका थिए । प्रहरीका अनुसार हामफाल्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । शव कोशी अस्पतालमा राखिएको छ ।

संगालोखबर 














