
विराटनगर । नेपाल सरकार शिक्षा विभाग सानोठिमी भक्तपुरको आयोजनामा वैश्विक नागरिक शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । असोज २६ गतेदेखि सुनसरीको इनरुवामा सुरु भएको अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको हो ।
अभिमुखीकरण कार्यक्रममा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, पाँचथर, उदयपुर, धनकुटा खोटाङ र इलामका ३१ जना शिक्षकहरू सहभागि थिए ।
शिक्षा विभाग सानोठिमी भक्तपुरका वरिष्ठ प्राविधिक अधिकृत रामचन्द्र ढकाल, शिक्षा तालिम केन्द्र इनरुवाका वरिष्ठ प्रशिक्षक रेवन्तबहादुर बस्नेत, प्रशिक्षकहरू शान्तकुमार चौहान, इन्दिरा देवी बराल, भेषराज खत्री, लक्ष्मीप्रसाद लिम्बु लगायतले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रममा शिक्षा तालिम केन्द्र इनरुवाका प्रमुख यादव प्रसाद दुलालले पाँच दिनको तालिमबाट प्राप्त ज्ञान र सीप विद्यालयमा प्रयोग गर्न आग्रह गरे । विश्वका ज्ञान र सीप विद्यार्थीहरूले पनि हासिल गर्न पाउन भन्ने उद्देश्यले तालिम आयोजना गरिएको उनले बताए ।
विशेषगरी तालिममा डिजिटल प्रणाली सामाजिक न्याय र समावेशिता स्वास्थ्य तथा वातावरण सम्बन्धी लोकतान्त्रिक मूल्यमान्यता लगायतका विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो ।
तालिममा सहभागी शिक्षकहरूले पाँच दिने तालिम अत्यन्तै फलदायी र गुणस्तरीय रहेको बताए । उनीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई स्थानीय पालिका र विद्यालयको कक्षा कोठामा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

संगालोखबर 




















