
विराटनगर । चाडपर्वको बेला अस्वाभाविक र अनुचित रूपमा मासुको मूल्य वृद्धि भएको व्यापक जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले खसी तथा बोकाको मासुको अधिकतम खुद्रा मूल्य तोकेको छ । मोरङ जिल्लाभर लागुहुनेगरि खसीबोकाको मासुको अधिकतम खुद्रा मूल्य प्रतिकिलो १२ सय रुपैयाँ तोकिएको हो ।
आज प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विराटनगर महानगरपालिका, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मासु व्यवसायी सङ्घका प्रतिनिधि, मासु व्यवसायीहरू र उपभोक्ता अधिकारकर्मीहरूबीच भएको छलफलले यस्तो निर्णय गरेको हो ।
छलफलका क्रममा मासुको मूल्य वृद्धि गर्नुपर्ने कुनै ठोस तथा मनासिब आधार नदेखिएको र यसअघि पनि प्रति केजी १२ सय रुपैयाँका दरले बिक्री वितरण हुँदै आएकाले उपभोक्ताको हितलाई ध्यानमा राखी उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले जारी गरेको सूचनाअनुसार अर्को व्यवस्था नभएसम्मका लागि प्रतिकिलो १२ सय रुपैयाँभन्दा बढी मूल्यमा मासु बिक्री गर्न पाइने छैन । तर उपभोक्ताले छनौट गरेको विशेष प्रकृतिको मासुको हकमा भने आपसी समझदारीमा स्वाभाविक मूल्य निर्धारण हुन सक्ने उल्लेख गरिएको छ ।
यसैगरी खुद्रा मासु व्यवसायीहरूले आफ्नो पसलमा मूल्य सूची अनिवार्य रूपमा टाँस्नुपर्नेछ । उपभोक्ताले मागेमा वा नमागेमा पनि मासुको प्रकृति, सही तौल र मूल्य उल्लेख भएको बिल/बिजक अनिवार्य रूपमा जारी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
तोकिएको अधिकतम मूल्यभन्दा बढी असुल गरेमा, अनुचित नाफाखोरी गरेमा वा कालोबजारी गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।

संगालोखबर 




















