
विराटनगर । असार सकिन केही दिन मात्रै बाँकी छ । कृषक यतिबेला रोपाइँको चपेटामा छन् । तातो घामको प्रवाह नगरी परिश्रम गरिरहेका कृषकहरूलाई लगानी उठ्छ, उठ्दैन भन्ने चिन्ता छ ।
कारण हो समयमै मलखाद नपाउँनु । मोरङको कटहरी गाउँपालिकाका दुखराम माझी थारुले अर्काको खेत अधियाँमा लिएर धान रोपेका छन् । तर अहिलेसम्म मल नपाउँदा उनी दुःखी छन् ।
‘अर्काको खेत अधियाँमा लिएको छु । अहिलेसम्म मल पाएको छैन’, उनले भने, ‘समयमै मल नपाउँदा मेहनत मात्रै खेर जान्छ । मल नपाउने समस्या पहिलादेखिकै हो । तर कसैले समस्या सम्बोधन गर्न सकेनन् ।’
मलखादका लागि दिनहुँ धाइरहेको सुनाउँदै उनले रित्तै हात फर्किनुपरेको गुनासो गरे । करिब डेढ बिघामा धान लगाउने गरेका उनले किसानको आवाज कसैले नसुनेको बताए । ‘मल किन्न जाँदा जहिले पनि छैन भन्ने जवाफ मात्रै पाइन्छ’, उनले थपे, ‘लामो समय लाइनमा बस्दा समेत रित्तो हात फर्किनुपर्ने बाध्यता छ ।’
पहुँचवालाले मात्रै पाउने तर आफूहरू जस्ता गरिब किसानले पर्याप्त मल पाउन ठूलै संघर्ष गर्नुपरेको उनको गुनासो छ । सोही स्थानका अर्का किसान घोपा माझीको व्यथा पनि उस्तै छ । उनले एक/दुई बोरा भएपनि मल पाउने आशमा दिन बिताइरहेका छन् ।

‘मल आएको हल्ला सुनेर दिन गएको थिएँ’, उनले भने, ‘वितरण सुरु नभएको भन्ने जानकारी पाए । रित्तो हात फर्किन पर्यो । हेरौँ अब कहिले कति पाइन्छ ।’ कटहरीकै श्यामदेवी माझीले दैनिक ज्याला दिएर धान रोप्न जन (खेताला) लगाएकी छन् ।
तीन बिघामा धान खेती गर्दै आएकी उनले एक बिघामा रोपाइँ गर्न २० जनासम्म मान्छे लाग्ने सुनाइन् । ‘जन धेरै लाग्छ, खर्च पनि धेरै हुन्छ’, उनले भनिन्, ‘समयमै पर्याप्त मल नपाउँदा उत्पादन घट्छ । लगानी डुब्ने चिन्ताका बीच पनि जग्गा बाँझो त राख्न भएन ।’
बल्लतल्ल मल पाएपनि त्यो हात्तीको मुखमा जिरा जस्तै हुने उनको भनाइ छ । सरकारले समयमै कृषकका समस्या सम्बोधन गरिदिए सहज हुने उनको बुझाइ छ । मल बिना धान उत्पादन घट्ने बताउँदै उनले वर्षेनी यस्तै समस्या भोग्दै आएको अनुभव सुनाइन् ।
सोही स्थानका गुरुदयाल माझीले १० कठ्ठामा धान लगाएका छन् । ‘समय बित्न लागिसक्यो, अहिलेसम्म मल पाउने छाँटकाँट छैन’, उनले भने, ‘सरकार जसको भएपनि मलखाद समयमै उपलब्ध भएमा हामीलाई सहज हुन्थ्यो ।’

मोहन ढकाल/संगालोखबर 

















