
धनकुटा । संखुवाभाबाट धरान जाँदै गरेको बस धनकुटामा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सुनसरीको धरान-११ बस्ने २८ वर्षीया सविता थापा र उनकी छोरी आरुसी घाइते भएका छन् । यस्तै मोरङको सुन्दरहरैंचा नगरपालिका-११ की अन्दाजी २६ वर्षीया अमृता तामाङ र उनकी ३ वर्षीया छोरी सृयान्सी घाइते भएका छन् ।
संखुवासभाको धर्मदेवी नगरपालिका-१ की ३४ वर्षीया अनिशा कटुवाल, अन्दाजी ११ वर्षीया पवित्रा कटुवाल, ५० वर्षीया देविमाता कार्की, धर्मदेवी-३ की अन्दाजी १५ वर्षीया संजिला खत्री, धनकुटा महालक्ष्मी नगरपालिका-६ की २५ वर्षीया संगिता राई, मोरङको कानेपोखरी गाउँपालिका-६ का अन्दाजी ४७ वर्षीय चक्र बहादुर तामाङ र कानेपोखरी-६ का अन्दाजी ३५ वर्षीय इन्द्रबहादुर तामाङ घाइते भएका छन् ।
उनीहरूको अवस्था सामान्य रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । उनीहरूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । को १ ख ७७८८ नम्बरको बस आज दिउँसो २ः४० बजे धनकुटा नगरपालिका-९ स्थित च्याङच्याङबारीमा दुर्घटना भएको हो ।

संगालोखबर 


















