मोहन ढकाल/संगालोखबर


इलाम । इलामको सूर्योदय नगरपालिका-४ मा पर्ने गुफापताल ढकमक्क एजेलिया फूलले सजिएको छ । नेपाल-भारत सीमा नजिकैको यस स्थानमा एजेलिया फूलको सौन्दर्य हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ ।

बैशाख पहिलो साताबाट एजेलिया फुल्न सुरु गरेको हो । यो फूल बैशाख महिनामा मात्रै फुल्ने गर्दछ । यो फूल ‘रोडोडेन्ड्रोन’ प्रजाति अन्तर्गत पर्दछ । नेपालीमा यसलाई गुराँस प्रजातिको रूपमा चिनिन्छ ।

Advertisement

यो स्थानमा एजेलियाले पर्यटकको मन लोभ्याउने गरेको छ भने इलामसहित भारतका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ ।

कोणधारी सल्लाघारी बिचको डाँडामा रहेको यस स्थानमा भ्यू टावरसहितका संरचना निर्माण गरिएको छ । गुफापताल पर्यटन समितिका सचिव विजय लावतीका अनुसार यस स्थानमा नेपाली भन्दा बढी भारतीय पर्यटकहरू आउने गरेका छन् ।

‘थोरै सडक बन्न बाँकी छ । सडक बनेको खण्डमा नेपाली पर्यटकहरूको संख्या पनि बढ्छ’, उनले भने, ‘भारततर्फबाट आउने सडक राम्रो भएकाले पनि पश्चिम बंगालबाट धेरै पर्यटकहरू आउने गरेका छन् ।’

एजेलिया फूलेको समयमा पर्यटकको संख्या थप बढ्ने गरेको उनले बताए । ‘यस स्थानमा फूलले थप सौन्दर्य थपेको छ’, उनले भने, ‘थप पर्यटक भित्राउन र यसको प्रवर्द्धनका लागि काम भइरहेको छ ।’

यो स्थान मेची नदिको उद्गम स्थलको शिरमा छ । सूर्योदय वडा नम्बर ४ का वडाध्यक्ष शरण राईले पर्यटन प्रवर्द्धनका लागि वडाले विभिन्न काम गरिरहेको बताए । उनले वडाले गरेको कामले मात्रै पर्याप्त नहुने भन्दै यस क्षेत्रको विकासका लागि तीनै तहको सरकारले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!