
विराटनगर । देशभरसँगै विराटनगरमा पनि प्रतिनिधि सभा सदस्य चयनका लागि उत्साहपूर्वक मतदान भइरहेको छ । बिहानै देखि मतदाताहरू आ–आफ्नो क्षेत्रको मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् । उनीहरूले अब जित्ने प्रतिनिधिले सहुलियतमा शिक्षा, स्वास्थ्यसँगै रोजगारीको वातावरण सिर्जना गरुन् भन्ने चाहना राखेका छन् ।
मोरङ क्षेत्र नम्बर-६ का मतदाता राजिव दाहालले जितेर जाने प्रतिनिधिले राष्ट्र र जनताका लागि काम गर्नुपर्ने बताए । धेरै निर्वाचनमा मतदान गरिसकेका उनले यसपटक आफूले स्वइच्छाले नै मतदान गर्न पाएको बताए । ‘जो निर्वाचित भएपनि राष्ट्र र जनताका लागि हेर्नुपर्छ’, उनले भने, ‘राज्यलाई जे गर्दा राम्रो हुन्छ । त्यसतर्फ सबै लाग्नुपर्छ ।’
जेनजी आन्दोलनपछि भएको मतदानमा सहभागिता जनाउन पाउँदा खुसी लागेको विराटनगर-४ की रेखा सोनीले बताइन् । अब जित्ने प्रतिनिधिले देशको हितमा काम गरोस् भन्ने उनको चाहना छ । ‘यो भन्दा पहिला जिताएका प्रतिनिधि प्रति खासै सन्तुष्ट हुन सकिएको थिएन’, उनले भनिन्, ‘अब जित्नेले केही गरुन् भन्ने चाहना हो ।’

विराटनगरको श्री माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्न पुगेकी सिता घिमिरे उत्साहित भएर लाइनमा बसेकी छिन् । उनले यो निर्वाचनले देश र जनताका लागि राम्रो काम गर्ने प्रतिनिधिको अपेक्षा गरेकी छन् । ‘राम्रो होस्, उन्नति, प्रगति होस्’, उनले भनिन्, ‘पहिला भन्दा थप राम्रो काम गरुन् । भ्रष्टाचार निर्मूल होस् भन्ने ठूलो चाहना छ ।’
मतदान गर्न लाइनमा बसेकी टिका श्रेष्ठले बालबच्चाहरूले सहुलियतमा राम्रो शिक्षा पाउनुपर्ने तथा दैनिक उपभोग्य बस्तु र स्वास्थ्य पनि सहुलियतमा उपलब्ध हुनुपर्ने धारणा राखिन । उनले अब जितेर जाने प्रतिनिधिले यस्ता कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘सबै नयाँ-नयाँ भन्छन्, हामी पनि त्यही बाटो लागेका छौँ’, उनले भनिन्, ‘जसले जितेपनि राम्रो गरुन् भन्ने हो ।’
अर्का मतदाता राजन राजवंशीले देशको हितमा काम गर्ने प्रतिनिधि आफूहरूको चाहना भएको उल्लेख गरे । यो निर्वाचनबाट निर्वाचित हुने प्रतिनिधिले जनतासँग गरेका वाचा पूरा गर्न सकुन् भन्ने उनको चाहना छ ।

पहिलो पटक मतदान गर्न लागेका कैलाश लामा धेरै उत्साहित छन् । उनले आफू पनि परिवर्तनको पक्षमा रहेको बताए । ‘विदेश जान लागेको छु । मतदान गरेरै जाउँ भन्ने सोचेर लाइनमा बसेको छु’, उनले भने, ‘अब देशमै रोजगारी सिर्जना होस् भन्ने चाहना छ ।’
अर्का मतदाता मोहन राजवंशीले पनि अब निर्वाचित हुने प्रतिनिधिले राम्रो काम गरुन् भन्ने चाहना राखेका छन् । ‘देश विकास होस् । युवाहरूले स्वदेशमै रोजगारी पाउन’, उनले भने, ‘अब जित्ने प्रतिनिधिबाट यस्तै अपेक्षा छ ।’
सुनिल राजवंशी पनि उत्तिकै उत्साहका साथ मतदान स्थलमा भेटिए । पुराना प्रतिनिधिले काम गर्न नसकेको बताउँदै उनले यो निर्वाचनबाट काम गर्नसक्ने प्रतिनिधि छनोट हुने विश्वास व्यक्त गरे ।
‘पूर्वाधार विकाससँगै खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारीका क्षेत्रमा उपलब्धिमूलक काम होस् भन्ने चाहना छ’, उनले भने, ‘विगतमा आश्वासन बाहेक केही पाइएन । यसपटक निर्वाचित हुनेबाट त्यस्तो नहोस् ।’ उनले अबको विकल्प नयाँ नै भएको बताए ।

मोहन ढकाल/संगालोखबर 















