मोहन ढकाल/संगालोखबर


विराटनगर । जेनजी आन्दोलनपछि नयाँ पार्टी खोल्ने लहर नै चल्यो । २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका चर्चित अनुहारहरू पनि दल दर्ता तर्फ लागे । ति बाहेक अन्य चर्चामा आएका व्यक्तिहरूले पनि आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दल दर्ता गरे ।

नयाँ पार्टीहरू खुल्दै गर्दा धेरैले एक्लाएक्लै नभएर वैकल्पिकहरू एकजुट हुनुपर्ने धारणा राख्दै आएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) स्वतन्त्रबाट चुनाव जितेकामध्ये सबैभन्दा बढी चर्चा, समर्थन र आलोचित समेत हुँदै आएका व्यक्ति हुन् ।

Advertisement

स्वतन्त्रबाट निर्वाचित भएका कारण विभिन्न समस्या झेल्दै समयमै पालिकाको बजेट समेत ल्याउन नसकेका उनीहरूले अनन्तः पार्टी आवश्यक ठानेर कदम अघि बढाए । साम्पाङले आफैँ अध्यक्ष रहेर यसअघि नै श्रम संस्कृति नामको पार्टी दर्ता गरेका थिए ।

बालेनले के गर्लान् भन्ने चासोका बीच केही दिनको संघर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग औपचारिक रूपमा एकता गरेका छन् । आज बिहान भएको ७ बुँदे सहमतिसँगै नेपाली राजनीतिमा नयाँ समीकरण बनेको छ । बालेन र रास्वपा बीचको एकतालाई लिएर धेरैले विभिन्न टिकाटिप्पणी गरेका छन् ।

उनीहरू बीचको एकतालाई श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले कडा शब्दमा आलोचना गरेका छन् । उनले उनीहरूको एकता सत्ता र विदेशी हस्तक्षेपलाई संस्थागत गर्न मात्रै भएको टिप्पणी गरेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले पनि उनीहरूको एकतालाई लिएर लिएर खरो टिप्पणी गरेका छन् । उनले सिंहदरबार र सर्वोच्च अदालत जलाउनेहरूलाई एउटै पार्टीमा जोडाएर चुनाव लडाउने पो भएछन् त भन्दै व्यङ्ग्य गरेका छन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण भएको र अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुन लागेको टिप्पणी गरेका छन् ।

यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै गरेका पनि उनले उल्लेख गरेका छन् । उनले यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक रहेकोमा उनले जोड दिएका छन् ।

जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले पनि रास्वपा र बालेनको सम्झौताप्रति टिप्पणी गरेका छन् । उनले रास्वपाले चुनावको तयारीमा ध्यान दिन सक्ने उल्लेख गर्दै आफूहरू भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिने सामाजिक सञ्जालमा लेखेका छन् ।

एमाले सचिव महेश बस्नेतले रवि विवादित पात्र भएकाले उनीसँग एकता गरेका बालेनको आकर्षण तीब्र गतिमा घट्ने भन्दै सामाजिक सञ्चालमा आलोचना गरेका छन् । उनले लोकप्रियताको आडमा उदाएका बालेनले देश फेर्छ भन्ने भ्रमपनि सकिन थालेको टिप्पणी गरेका छन् ।

‘बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो’, उनले फेसबुकमा लेखेका छन्, ‘रबि जस्तो बिबादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तिब्र गतिमा घट्ने देखिन्छ ।’

रास्वपा र बालेनबीचको एकतालाई लिएर सामाजिक सञ्जालमा प्रस्तुत गरिएका यस्ता प्रतिक्रियाको प्राःयले खुलेर बिरोध गरेका छन् । उनीहरूले अन्य ठूला दलले गठबन्धन गर्दा हुने तर रास्वपा र बालेनको एकता हुँदा किन टाउको दुखाइ भन्दै प्रश्न गरेका छन् ।

अन्तरिम सरकारका सञ्चारमन्त्री जगदीश खरेलले नयाँ दिन, नयाँ सुरुवात भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनीहरूको एकतालाई लक्षित गर्दै उनले सुन्दर र समृद्ध नेपालको सपना गन्तव्य तय हुदैछ… भन्दै लेखेका छन् । 

अभिनेता तथा निर्माता दीपकराज गिरीले जनताले हरेक पल्ट परिवर्तनको आवाजलाई साथ दिएको भन्दै अब फेरी मुलुकले अर्को विकल्प रोज्न नपरोस् भन्दै शुभकामना दिएका छन् । 

अभिनेता तथा निर्माता निर्मल शर्माले अब देश समृद्धितर्फ अघि बढ्छ भन्नेमा आशावादी रहेको प्रतिक्रिया दिएका छन् । अभिनेता रमेश उप्रेतीले यो सम्झौता निस्वार्थ देश र जनताको हितमा समर्पित हुनेछ भन्ने पूर्ण आशा लिएको भन्दै बधाई अनि शुभकामना दिएका छन् । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!