
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ । ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो ।
२०७८ सालमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी १५ शैय्याको अस्पताल निर्माण थालिएको थियो । ठेकेदारले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वाल मात्र लगाएर सम्पर्कविहीन भएपछि अस्पताल निर्माणको काम अलपत्र परेको हो ।
अस्पताल सम्झौता अनुसार २०८० सालको असारमा सम्पन्न गर्ने गरी भूमि हिमालयण जेभीले निर्माणको जिम्मा लिएको थियो । सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि हालसम्म १० प्रतिशत मात्र काम गरेर ठेकेदार विवेश कार्की सम्पर्कविहीन बनेका गाउँपालिकाले जनाएको छ ।
अस्पताल निर्माणको कूल लागत भ्याटबाहेक दश करोड १३ लाख ८३ हजार रहेको छ । हालसम्म निर्माण कम्पनीले ९१ लाख भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ । खेती गरिरहेको जग्गा अस्पताल निर्माणका लागि दिएका स्थानीयले काम अलपत्र बनेपछि ठेकेदारलाई कारबाहीको माग गरेका छन् ।
गाउँपालिकाले अस्पताल भवन समयमा सम्पन्न गराउन पटक पटक समन्वय गरे पनि निर्माण कम्पनी सम्पर्कमा आएको छैन । ठेकेदारले लामो समयदेखि काम अलपत्र पारेकाले गाउँपालिकाले उक्त कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाउने तयारी थालेको छ ।

संगालोखबर सम्पादकीय 













