मोहन ढकाल/संगालोखबर


विराटनगर । पछिल्लो समय मोरङ कारागारका कैदीबन्दीको मृत्यु हुने क्रम बढेको छ । बिहीबार एकै दिन दुई कैदीबन्दीको मृत्यु भएकोमा शनिबार पनि एक कैदीको मृत्यु भएको छ । योसँगै मोरङ कारागारमा वैशाखयता मृत्यु हुने कैदीबन्दीको संख्या १४ पुगेको छ ।

शनिबार लागूऔषध मुद्दाका थुनुवाको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । मोरङको उर्लाबारी नगरपालिका-१ घर भएका ३७ वर्षीय राजु भन्ने टंकबहादुर दर्जीको मृत्यु भएको हो ।

Advertisement

शरीर सुन्निने र सास फेर्न गाह्रो भएपछि दर्जीलाई मंसिर ७ गते उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको कारागारका सूचना अधिकारी तुलसी पौडेलले जानकारी दिए ।

अदालतले गत साउन ३० गते थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई कारागार चलान गरिएको थियो । उनीविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ । शव आफन्तले बुझेर लगिसकेका छन् ।

बिहीबार जंगली हात्ती मारेको आरोपमा ५ वर्ष कैद सजाय सुनाइएका मोरङको बेलबारी नगरपालिका-३ घर भएका ४७ वर्षीय तेजबहादुर राई र कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद तोकिएका मोरङको पथरीशनिश्चरे नगरपालिका-५ का ६६ वर्षीय हर्कजंग लिम्बूको मृत्यु भएको थियो ।

पछिल्लो समय कारागारका कैदीबन्दीमा श्वासप्रस्वास र शरीर सुन्निने समस्या बढी मात्रामा देखिएको कारागारका स्वास्थ्यकर्मी भीमबहादुर राईले जानकारी दिए । ‘पछिल्लो समय यो समस्या धेरै देखिएको छ’, उनले संगालोखबरसँग भने, ‘के कारणले यस्तो समस्या देखिएको हो भनेर यकिन भन्ने सक्ने अवस्था छैन ।’

यस्तै समस्या देखिएका अन्य कैदीबन्दीको कोशी अस्पतालमा उपचार भइरहेको उल्लेख गर्दै उनले कतिपयको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए । ‘अहिले दुई जना बेड भर्ना हुनुहुन्छ’, उनले थपे, ‘बेड नपाउँदा केहीको इमरजेन्सीमा राखेर उपचार भइरहेको छ ।’

उनका अनुसार कोशी अस्पतालको इमरजेन्सीमा ८/९ जना कैदीबन्दीको उपचार भइरहेको छ । उनीहरूलाई केहीदिन अगाडि देखि अस्पताल भर्ना गरिएको उनले बताए । उनीहरूको अवस्था अहिले ठीकै रहेको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!