मोहन ढकाल/संगालोखबर


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच लफडा भएको छ । वडा नम्बर १ का वडाध्यक्ष गोविन्द लिम्बु र गाउँपालिकाका योजना अधिकृत दोर्णबहादुर राईबीच लफडा भएको हो ।

वडाध्यक्ष लिम्बुले कर्मचारी राईको कुटपिटबाट हातको औँला भाँचिएको दाबी गरेका छन् भने कर्मचारी राईले वडाध्यक्षले मुक्का प्रहार गर्दा दुई वटा दाँत हल्लिएको दाबी गरेका छन् ।

Advertisement

बुधबार दिउँसो कार्यकक्षमा काम गरिरहेको अवस्थामा कर्मचारी राईमाथि कुटपिट भएको भन्दै गाउँपालिकामा कार्यरत कर्मचारीहरूले विज्ञप्ति निकालेर घटनाको भत्सर्ना गरेका छन् । उनीहरूले वडाध्यक्ष लिम्बुलाई कानुनी कारबाहीको माग गरेका छन् ।

‘यसरी कार्यकक्षमा नै भएको एक राष्ट्रसेवक कर्मचारीमाथिको निर्घात हमला निन्दनीय छ’ कर्मचारीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनप्रतिनिधिले कर्मचारीको अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै कर्मचारीलाई हातपात गर्ने जस्तो गलत हर्कत अक्षम्य रहेको छ ।’

कुटपिटको घटनाले समग्र कर्मचारीको मनोबल कमजोर पार्ने भएकोले वडाध्यक्षलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूले माग गरेका छन् । आफ्ना मागलाई वेवास्ता गरेको अवस्थामा थप आन्दोलनमा जाने कर्मचारीहरूले चेतावनी दिएका छन् ।

वडाध्यक्ष लिम्बुले भने कर्मचारीले दुर्व्यवहार गर्दै आफूमाथि हातपात गरेको दाबी गरे । ‘कर्मचारीले हातपात गर्दा देब्रे हातको औँला भाँचिएको छ’, वडाध्यक्ष लिम्बुले संगालोखबरसँग भने, ‘म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्न आएको छु ।’

उनले आफूले कर्मचारीमाथि हातपात नगरेको बताए । वडाध्यक्ष लिम्बुले पालिकाका कर्मचारी अराजक भएको आरोप लगाउँदै जनताको काम समेत नगर्ने गरेको आरोप लगाए ।

‘पालिकाका कर्मचारी अराजक भइरहेको अवस्था छ र जनताको काम नगरिरहेको अवस्था छ’, वडाध्यक्ष लिम्बुले थपे, ‘यो धेरै लामो समयदेखिको समस्या हो । हप्तादिन अघि सम्झौता गर्न दिएकोमा आलटाल भइरहेको थियो । उहाँले हुन्छ भन्ने तर व्यवहारमा काम गर्नुभएन ।’

काम किन भएन भनेर सोध्दा कर्मचारीले दुर्व्यवहार गर्दै आफूमाथि हातपात गरेको वडाध्यक्ष लिम्बुको भनाइ छ । कर्मचारीले उल्टै हप्कीदप्की गरेको उनले बताए । गाउँपालिकाका योजना अधिकृत दोर्णबहादुर राईले भने आफूले वडाध्यक्षलाई हातपात नगरेको दाबी गरेका छन् ।

‘हिजो वडाध्यक्ष ज्यूले बिल भरपाई केही नल्याएको तथा सम्झौता नभइ रकम माग्न आउनुभयो’, उनले भने, ‘बिल भरपाई चाहिन्छ, त्यत्तिकै रकम दिन सकिँदैन भनेपछि उहाँले मेरो अनुहारमा मुक्का प्रहार गर्नुभयो । दुईवटा दाँत पनि हल्लिएको छ, ओठ काटिएको छ ।’

उहाँकै कागजको सम्झौता तयार पार्दापार्दै वडाध्यक्षले हिर्काएको उनको भनाइ छ । उनले टेबल र भित्तामा हिर्काउँदा हातमा चोट लागेको हुनसक्ने बताए । ‘दोहोरो हातपात भएको हैन, उहाँले झ्याप्पै अनुहारमा हान्नु भएको हो’, राईले भने । वडाध्यक्षले कार्यकक्षबाट आफूलाई घिसार्दै बाहिर निकाल्न खोजेको उनको भनाइ छ । आफूले कुनै प्रतिकार नगरेको योजनाअधिकृत राईले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!