
विराटनगर । मोरङको लेटाङ नगरपालिका-२ बुधबारेकी १३ वर्षीया अंशु गौतमको शव फेला परेको दुई साता नाघेको छ । कक्षा ५ मा पढ्ने गौतम असोज २१ गते दिउँसो घरबाट खेल्न जान्छु भन्दै निक्लिएकी थिइन् । तर उनी घर फर्किइनन् ।
उनी हराएको १८ दिनपछि अर्थात कात्तिक ७ गते बेलबारी-चिसाङ साझेदारी बनभित्र क्षतविक्षत अवस्थामा शव भेटियो । शव भेटिएको १८ दिन हुँदा पनि पनि उनको मृत्युको कारण खुल्न सकेको छैन । शरीर र टाउको छुट्टिएको अवस्थामा अंशुको शव फेला परेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कारपछि हत्या गरिएको भनिएपनि अहिलेसम्म प्रहरीले कुनै निष्कर्ष निकाल्न सकेको छैन । मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार घटनाको तीब्र अनुसन्धान भइरहेको छ ।
तर अहिले सम्म कुनै ‘क्लु’ पत्ता लाग्न नसकेको डीएसपी चुडालले बताइन् । ‘शव क्षतविक्षत अवस्थामा फेला परेको थियो’, उनले भनिन्, ‘उनीसँग मोबाइल नहुँदा सहयोगी थप प्रमाण जुटाउन समस्या भयो ।’
अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) देखि प्रदेश प्रहरीका विशेष टोली र विज्ञहरू खटिएका छन् । तर शव भेटिएको १८ दिन बितिसक्दा पनि केही पत्ता लाग्न सकेको छैन ।
प्रहरीका अनुसार फरेन्सिक प्रतिवेदन आउन बाँकी छ । टेलिकम सिग्नल कमजोर हुँदा लोकेसन ट्रेसिङमा पनि समस्या आएको प्रहरीको भनाइ छ । प्रहरीको प्रारम्भिक अनुमानमा घटनामा एकजना मात्र संलग्न हुन सक्छन् । तर प्रहरीले कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

इन्दु साह/संगालोखबर 













